काठमाडौं । भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबको नाम सुन्दा प्रहरीको अनुशासन, स्वास्थ्य र कल्याणको प्रतीक झल्किन्छ। तर पछिल्लो समय त्यही क्लब अनियमितताको घेराभित्र फसिरहेको छ। कारण हो– प्रहरी निरीक्षक (इन्स्पेक्टर) नेत्र प्रसाद पौडेलको बढ्दो हस्तक्षेप, मनपरी र कमिसनको खेल।
प्रहरीको अनुशासित छवि र कल्याणकारी भावना बोकेको यो संस्था अहिले भ्रष्टाचारको चरम नमूना बन्ने खतरा देखिँदैछ। २०८२ सालको वैशाख दोस्रो सातादेखि पूर्वप्रहरी महानिरीक्षक धिरज प्रताप शाहको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट काजमा पौडेललाई क्लबमा सरुवा गरिएको थियो ।
हाजिर भएको दिनदेखि नै इन्स्पेक्टर पौडेलले क्लबका भौतिक संरचना, सेवा सुविधा र कर्मचारी व्यवस्थापनमा हस्तक्षेप गर्न थालेको बताइन्छ।
पुलिस हेल्थ क्लबमा पहिल्यैबाट पर्याप्त रूपमा रहेका जिमका सामानहरू हुँदाहुँदै उनले लाखौं मूल्यका नयाँ ट्रेडमिल, साइकल र चेष्ट उपकरणहरू ल्याउने निर्णय गरे, त्यो पनि कुनै टेन्डर प्रक्रिया वा लेखा प्रमुखको जानकारी बिना। छनोट गरिएका सप्लायर्स सूची दर्ता पनि भएका थिएनन्, तर उनीहरू ‘निकटका’ थिए भन्ने कुराले सबै प्रष्ट हुन्छ।
सुनिन्छ, ती खरिदहरूमा तीन लाख रुपैयाँसम्मको कमिसन असुलियो। क्लबमा आवश्यकताको मूल्यांकन नभई सामान थोपार्ने र त्यसको भुक्तानी आगामी बजेटबाट गर्न दबाब दिने काम भइरहँदा, पुराना उपकरणहरू भने स्वीमिङ पूलको छेउमा बेवारिसे झैं थन्क्याइएका छन्। जुन अहिले पनि देख्न सकिन्छ ।
पौडेलको गतिविधि यतिमै सीमित छैन। हेल्थ क्लबको सेवा–सुविधाः जस्तै जिम, स्वीमिङ तालिम, साउना प्रहरीका लागि हो भन्ने परिभाषा उनले फेरिदिए। आफ्ना नजिकका होटल व्यवसायीदेखि निजामति कर्मचारीसम्मलाई उनले यस्ता सेवाहरू ‘फ्री पास’को रूपमा बाँड्ने गरेका छन्।
प्रहरी कर्मचारी भने सदस्यता शुल्क तिरेर लाइन बस्दा उनका सर्कलका व्यक्तिहरू ढोकैबाट भित्रिन्थे, त्यो पनि कुनै रजिस्ट्रेसन बिना। यसरी क्लबलाई आफ्नो नीजि व्यवसाय जसरी सञ्चालन गरिरहेको आरोप इन्स्पेक्टर पौडेलमाथि छ ।
क्लबमा सदस्य भएर आउने व्यक्तिहरूले कहिलेकाहिँ निरीक्षक पौडेलको व्यक्तिगत माग पनि पूरा गर्नुपर्ने स्रोत बताउँछ।
यस्तै क्लबको क्यान्टिन त झनै ठूलो खेलको केन्द्र बनिरहेको छ। पूर्वसई भरत श्रेष्ठद्वारा सञ्चालित क्यान्टिनले १५ वर्षदेखि न त भाडा तिरेको छ, न विजुली–पानीको बिल। यो अवस्थाबारे कुरा उठ्न नदिन पौडेलले क्लबभित्र खटिएका प्रहरीहरूलाई कडा निर्देशन दिएको बताइन्छ- ‘भरत श्रेष्ठलाई केही भन्ने होइन।’
यता क्लबमा भएको सजावट कार्यमा पनि व्यापक अनियमितता भएको बताइन्छ। कल्याण महाशाखाको कुनै स्वीकृति विना स्वीमिङ पूल छेउको क्यान्टिनमा फल्सिलिङ र डेकोरेशनको काम, अपराध महाशाखाका एकजना सईमार्फत गराइएको चर्चा छ। जसको वास्तविक खर्च ५०–६० हजार थियो, तर त्यसको बिल भने डेढ लाखसम्म बनाइएको स्रोतको दावी छ।
त्यसैगरी हेल्थ क्लबका कर्मचारीहरूका लागि ल्याइने ट्र्याकसुट, भेष्ट, कट्टुजस्ता सामग्रीमा समेत कमिसनको चलखेल भइरहेको खुलेको छ। त्यो मात्रै होइन, हेल्थ क्लबमा आयोजना हुने विभिन्न कार्यक्रम तथा पार्टीहरूमा खटाइने प्रहरी कर्मचारीहरूलाई वेटरको रूपमा प्रयोग गरिएको छ- न त अतिरिक्त भत्ता न सम्मानजनक व्यवहार।
यो सबै परिप्रेक्ष्यमा हेर्दा, हेल्थ क्लबको उद्देश्य र प्रहरी कल्याणको भावना गहिरो संकटमा परेको स्पष्ट देखिन्छ। प्रहरी निरीक्षक पौडेलको गतिविधिले प्रहरी संस्थाको आन्तरिक अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गर्छ।
हेल्थ क्लबको नाममा कल्याण होइन, कमिसनको कमाण्ड चलिरहेको यो अवस्थाले प्रहरी संस्थाभित्र नै सफाइ अभियान आवश्यक देखिन्छ।
यस विषयमा प्रहरी प्रधान कार्यालयले चासो समेत राखेको छ । अहिलेसम्म कुनै उजुरी नआएको र यदी त्यस्तो गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही हुने प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले बताए ।