काठमाडौं । महाराजगन्जमा जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार काभ्रेका युवराज क्याप्छाकी (२८) र मकवानपुरका सोनाम तामाङ उर्फ बुद्धिलाल थिङ (२१) विरुद्ध कर्तव्य ज्यानसहितका कसुरमा मुद्दा दायर गरेको हो।
दुवैले प्रहरी कुटपिट गरी हत्या गरेको बयान दिएका छन्। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत थापा भदौ २४ गते सादा पोसाकमा ड्युटीमा खटिएका बेला भीडले कुटीकुटी हत्या गरी शव सडकमा फालेका थिए।
आरोपितहरूले प्रहरीलाई रड, लाठी, चक्कु, खुकुरी र ह्यामरले आक्रमण गरेको र प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको स्वीकारेका छन्।
सरकारी वकिल कार्यालयले उनीहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरअन्तर्गत जीवित रहुञ्जेल कैद सजाय माग गरेको छ। साथै, पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।
जेनजी आन्दोलनमा प्रहरी जवान थापा, सहायक हवल्दार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन राय गरी तीन प्रहरीको हत्या भएको थियो।
