काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका धनुषा र रौतहट जिल्लाका प्रहरी प्रमुखमा नयाँ एसपीलाई पठाएको छ ।
सरुवा सूचीअनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी रुगम कुँवरलाई धनुषा र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी प्रमुखको रूपमा खटाइएका एसपी कुँवर र कार्की नेपाल प्रहरीमा काबिल अधिकृतको रुपमा परिचित छन् ।
यसअघि रौतहट प्रहरी प्रमुख रहेका एसपी नेत्रमणी गिरी र धनुषा प्रहरी प्रमुख नरहरी रेग्मीलाई फिर्ता बोलाइएको छ। दुवै जिल्लाका एसपीको कार्यसम्पादन राम्रो नभएको रिपोर्टका आधारमा सरुवा गरिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाउन प्रहरी महानिरीक्षकलाई अधिकार दिएका थिए ।
त्यस्तै, गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा तस्करी बढेको आरोप लाग्दै आएको छ ।
