काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको समय नजिकिँदै छ। हालका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ आगामी २६ कात्तिकमा अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ नेतृत्व चयन गर्नुपर्नेछ। यही तयारीबीच अहिले संगठनभित्र र बाहिर दुबै ठाउँमा एक नाम बढी चर्चामा छ, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्की।
बरियता, कार्यक्षमता र स्वच्छ छविका कारण कार्कीलाई आईजीपीको स्वाभाविक र सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। संगठनभित्रका धेरै वरिष्ठ अधिकारी निकट रहेका विश्लेषकहरूको बुझाइ छ- ‘यो पटक बरियता र योग्यता दुवैमा कार्कीभन्दा अगाडि कोही छैन।’
२७ वर्षको समर्पित सेवा
२०५४ साल चैत १८ गते निरीक्षक (इन्स्पेक्टर)का रूपमा प्रहरी सेवामा प्रवेश गरेका कार्कीले इन्स्पेक्टरदेखि एआइजीसम्मको यात्रामा हरेक तहमा आफ्नो दक्षता प्रमाणित गरेका छन्। उनको पेशागत जीवन अनुशासन, निष्ठा र नतिजामुखी कार्यशैलीले परिचित छ।
प्रहरी प्रवक्ता हुँदा उनले संगठन र जनताबीचको दूरीलाई सुमधुर राख्ने प्रयास काम गरे। सञ्चार माध्यमसँग खुला संवाद र तथ्यमा आधारित प्रतिक्रियाले प्रहरीको छवि सुधार्ने उनको योगदान अहिले पनि स्मरणीय छ।
अपराध नियन्त्रण र जनविश्वास सुदृढीकरण
लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा कार्कीले अपराध नियन्त्रण र जनविश्वास दुवै क्षेत्रमा ठोस परिणाम देखाए। उनको नेतृत्वमा सञ्चालन भएका ‘सुरक्षित लुम्बिनी अभियान’ र ‘समुदायमै प्रहरी’ कार्यक्रमले सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण र जनसहयोगमा उल्लेखनीय सुधार ल्याए।
उनको रणनीति ‘जनताको सहभागिताबिना सुरक्षा सम्भव छैन’ संगठनभित्र नै नयाँ सोचको रूपमा स्थापित भएको छ।
यसअघि काठमाडौं प्रहरी प्रमुखको रुपमा सेवा दिँदा उनले साइबर अपराध नियन्त्रण, ट्राफिक सुधार र महिला हिंसा न्यूनीकरणमा ठोस कदम चाले। उनको कार्यकालमा प्रहरीले जनजीवनसँग प्रत्यक्ष सम्बन्धित सेवामा उल्लेखनीय सुधार ल्याएको प्रहरी अधिकारीहरू बताउँछन्।
सुधारवादी सोच र आधुनिक दृष्टि
कार्की प्रहरी संगठनभित्र नयाँ पुस्ताका प्रतिनिधि अधिकारीका रूपमा हेरिन्छन्। उनले संगठनलाई प्रविधिमैत्री, पारदर्शी र सेवा–मुखी बनाउने अभियान अघि सारेका छन्।
उनको पहलमा विभिन्न युनिटहरूमा डिजिटल अभिलेख प्रणाली, अनलाइन उजुरी संयन्त्र र प्रतिक्रिया मेकानिजम लागू गरिएको थियो, जसले प्रहरी प्रशासनमा दक्षता र जवाफदेहिता बढाएको छ।
संगठनभित्रका अधिकारीहरू भन्छन्, ‘कार्कीको नेतृत्वमा प्रहरीले आधुनिक प्रविधि र मानवीय संवेदनशीलता दुबै सन्तुलनमा राख्न सक्छ।’
प्रतिस्पर्धा र तिकडमबीच अडिग
आईजीपी पदका लागि कार्कीका साथै एआइजीहरु राजन अधिकारी, मनोज केसी र सिद्धीविक्रम साह पनि प्रतिस्पर्धामा छन्। तर बरियता, अनुभव र संगठनिक विश्वासका हिसाबले कार्की नै अगाडि रहेको धारणा बलियो हुँदै गएको छ।
यद्यपि पछिल्लो समय उनलाई विवादमा तान्ने प्रयासहरू भइरहेका छन्। केही ब्याचमेटहरूले समेत उनलाई पन्छाउने रणनीति अपनाएको भनाइ छ। तर कार्की भने सधैंजस्तै शान्त, संयमित र आफ्नो कामप्रति केन्द्रित छन्।
उनी भन्छन्, ‘म आफ्नो काम गर्छु, निर्णय प्रणालीको हातमा छ।’
सरकारको तयारी
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले बरियता र कार्यसम्पादनका आधारमा नयाँ आईजीपी चयन गर्ने तयारी थालेको छ। स्रोतहरूका अनुसार, यदि सरकारले पेशागत मापदण्डमा टेकेर निर्णय गर्यो भने कार्की नै ३३औं प्रहरी महानिरीक्षक बन्ने सम्भावना अत्यधिक छ।
उनको स्वच्छ छवि, नेतृत्व क्षमताको पहिचान र जनविश्वासले गर्दा प्रहरी संगठनको नयाँ अध्याय ‘कार्कीको नेतृत्व’ बाट सुरु हुने अपेक्षा बढेको छ।
२७ वर्षको अनुभव, इमानदार छवि र आधुनिक सोचका कारण कार्की अहिले प्रहरी नेतृत्वका लागि सबैभन्दा योग्य चेहराका रूपमा देखिएका छन्। नेपाल प्रहरीको आगामी यात्रा – बरियता र विश्वास दुवैमा अगाडि रहेका कारण कार्कीले नेतृत्व सम्हाल्ने सम्भावना धेरै छ ।
