पर्सा । पर्सा जिल्लाका विभिन्न सीमावर्ती नाकाहरूबाट ठुलो मात्रामा तस्करी पुनः सुरु भएको छ। स्थानीयवासी र व्यापारीहरूले जिल्ला प्रहरी कार्यालय पर्सामाथि नै तस्करहरूलाई ‘लाइन’ दिएको गम्भीर आरोप लगाएका छन्।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले जिल्लाको जिम्मेवारी सम्हालेपछि केही समय रोकिएको तस्करी गतिविधि फेरि तीव्र बनेको हो। तस्करीका वस्तुहरू कपडा, पेट्रोलियम पदार्थ, मदिरा, गुट्खा, खाद्यान्नदेखि औद्योगिक सामानसम्म खुलेआम आवतजावत भइरहेको बताइएको छ।
सीमा नाकामा प्रहरीको मिलेमतो
पर्साका प्रमुख नाका- ईनर्वा, भन्सार, छपकैया, श्रिसिया, अमरपट्टी, खेस्राहा, धोरै, सबैठवा, भिस्वा, टिहुकी, बुढगाई, मिर्जापुर, महादेवपट्टी, असवारी, जानकीटोला र स्वर्णपुर हुँदै तस्करी निर्बाध रूपमा चलिरहेको स्थानीयको दाबी छ।
उनीहरूका अनुसार सीमामा तैनाथ प्रहरी चौकीका इन्चार्जहरूलाई परिवर्तन गरेर आफ्ना निकट व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ र तिनैमार्फत तस्करीको ‘लाइन’ सञ्चालन भइरहेको स्रोत बताउँछ।
एक स्थानीय व्यापारीले भने, ‘पहिले जस्तो कडाइ अब छैन, बरु प्रहरीकै इसारामा माल ओसारिने गरेको छ।’
तस्करीविरुद्ध आवाज उठाउने वा उजुरी गर्नेहरूलाई प्रहरीले सहयोग गर्नुको सट्टा उल्टै दबाब दिने, धम्की दिने र झूटो मुद्दा लगाउने कार्य भइरहेको आरोप पनि पीडितहरूले लगाएका छन्।
यसरी पछिल्लो समय पर्सा प्रहरीले अब तस्करी नियन्त्रण होइन, त्यसको संरक्षणमा भूमिका खेलिरहेको छ।
गृह मन्त्रालयमा उजुरी
प्रहरी प्रशासनको यस आचरणप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रहरी कार्यालय पर्साविरुद्ध गृह मन्त्रालयमा औपचारिक उजुरी दर्ता भएको बताइएको छ।
उजुरीमार्फत गृह मन्त्रालय, प्रदेश प्रमुख र नेपाल प्रहरीको केन्द्रीय कमाण्डसमक्ष विषयमा ध्यान दिन माग गरिएको छ।
