काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा आज सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) को टोलीद्वारा पक्राउ परेका छन्।
उनीमाथि फ्लाई दुबईको FZ0578 उडानमार्फत ल्याइएको सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोप छ।
२०७९ पुस १० गते चीनियाँ नागरिक लि हानसोङ नेपाल आएका थिए। उनले ल्याएका दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप राखिएका थिए । ती भेपभित्र करिब ९ किलो सुन लुकाइएको अनुसन्धानमा खुलेको छ। उक्त सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको थियो।

सीआईबीको अनुसन्धानले देखाएको छ कि यो सुन भन्सारका नासु रेवन्त खड्का लगायतका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा बेचिएको थियो।
महरा भन्सारमा सुन छुटाउन दबाब दिएको आरोपमा तानिएका हुन्। यसअघि उनका छोरा राहुल महरा पनि यही मुद्दामा पक्राउ परेर जेल चलान भएका थिए।
२०७९ पुसमा पक्राउ परेका लि हानसोङले आफ्नो पासपोर्ट फिर्ता लिएर नेपाल छोडे पनि भेप (Vape) लामो समय भन्सारमै रोकिएको थियो। पछि भेप साटिएको शंका लागेपछि भन्सारले २०८० वैशाख २६ गते सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो।
लगातार अनुसन्धानपछि सीआईबीले यस घटनामा ९ किलो सुन तस्करी भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पछिल्लो चरणमा पूरक अभियोजनमार्फत राहुल महरा, दावा छिरिङ, लोकेन्द्र पौडेल, नीमा गुरुङ लगायतलाई मतियारका रूपमा मुद्धा चलाइएको छ।
अहिले कृष्णबहादुर महराको पक्राउसँगै यो तेस्रो अभियोजन (Third Charge Sheet) बन्ने तयारीमा छ।
अनुसन्धानका क्रममा प्राप्त फोन कल रेकर्डहरूमा महरा र उनका छोरा राहुलले तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँग लगातार सम्पर्कमा रहेको प्रमाण भेटिएको बताइएको छ।
