पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ का नेकपा माओवादीका नेता शिव कुमार साह तेली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
पर्सा प्रहरीको विशेष टोलीले बुधबार २२ गते वीरगञ्जबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दिएको जानकारीअनुसार तेलीले आफ्नो बैंक खातामा पर्याप्त रकम नरहेकाे थाहा हुँदाहुँदै झुक्याएर विभिन्न व्यक्तिलाई चेक दिएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले उक्त कार्य बैंकिङ कसुरमा पर्ने स्पष्ट गर्दै उनीविरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्।
तेली पूर्वमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए भने आगामी सखुवा प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्षको लागि प्रत्यासी हुने तयारीमा थिए। आफूलाई “नेता”का रूपमा चिनाउँदै योजना पास गराइदिने बहानामा चेकमार्फत रकम लिने र पछि चेक बाउन्स हुने गरेको उजुरीहरू प्रहरीसमक्ष दर्ता भएका थिए।
बैंकिङ क्षेत्रप्रति जनविश्वास खलबल्याउने यस्ता कार्यले आम नागरिकलाई धोका दिने र कानुनको उल्लंघन गर्ने प्रवृत्तिको कडा भर्त्सना गरिंदै आएको छ। माओवादी पार्टीका नेताको संलग्नता रहेको घटनाले पार्टीको नैतिकता र छविमा समेत प्रश्न उठाएको छ।
प्रहरी स्रोतका अनुसार हाल उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले यस प्रकरणलाई गम्भीर रूपमा लिँदै थप संलग्नता र पीडितहरूको विवरण सङ्कलन गरिरहेको जनाएको छ।
