काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का नवनियुक्त प्रमुख टेकेन्द्र कार्की भारतको भ्रमणमा जान लागेका छन् । भारतको अन्तर्राष्ट्रिय मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’का प्रमुख पराग जैनको औपचारिक निमन्त्रणामा कार्कीको नेतृत्वमा नेपाली टोली नयाँ दिल्ली प्रस्थान गर्न लागेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा तय गरिएको यो भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति समेत प्रदान गरेको छ । टोली असोज २७ गते (अक्टोबर १३) नयाँ दिल्ली पुग्नेछ र तीन दिनसम्म त्यहाँ रहने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ ।
कार्कीसँगै विभागका कन्ट्रोल हेर्ने डिआईजी कृष्ण खनाल र एसपी टेकराज तिमिल्सिना समेत टोलीमा सहभागी हुनेछन् ।
स्रोतका अनुसार ‘रअ’ प्रमुख जैनले नयाँ गुप्तचर प्रमुखसँग औपचारिक चिनारी भेट गर्ने तयारी गरेका छन् । दुई देशबीच सुरक्षा र सूचना आदानप्रदानलाई सहज बनाउने उद्देश्यसहित भारतीय पक्षले सम्बन्ध सुदृढीकरणको पहल थालेको बताइन्छ ।
नेपाल र भारतबीच उच्चस्तरीय सुरक्षा संवादका औपचारिक बैठकहरू भइरहेका बेला गुप्तचर तहको यो भेटलाई दुवै देशका सुरक्षा निकायबीचको विश्वास पुनर्स्थापनाको अवसरका रूपमा हेरिएको छ ।
