नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियतामा नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज-बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो।
मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो।
प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गडडी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
