काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी कार्यालय र सवारीसाधनमा व्यापक आगजनी हुँदा नेपाल प्रहरीमा ठूलो भौतिक क्षति पुगेको छ।
प्रहरीका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको आन्तरिक प्रतिवेदन अनुसार ७४ वटा प्रहरी भवन पूर्ण रूपमा नष्ट भएका छन् भने २२२ वटा भवनमा आंशिक क्षति पुगेको उल्लेख छ।
रेग्मीका अनुसार, प्रहरीको दैनिक कार्य सञ्चालनका लागि प्रयोग हुँदै आएका ५५१ वटा सवारीसाधनमा प्रदर्शनकारीले आगजनी गरेका थिए। तीमध्ये ४९४ वटा सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५७ वटामा आंशिक क्षति पुगेको छ।
प्रतिवेदन उपत्यकामा मात्रै १८४ जटा चारपांग्रे सवारीसाधनमाथि क्षति पुगेको उल्लेख छ ।
‘उपत्यकामा मात्रै १०३ वटा हलुका चारपांग्रे सवारीसाधनमा आगजनी भएको छ,’ डीआईजी रेग्मीले भने, ‘त्यस्तै ३१९ वटा मोटरसाइकल जलेका छन्, जसमा २१० वटा क्विक रेस्पोन्स टिम (क्युआरटी) का थिए।’
उपत्यकाभित्र कुनै पनि घटना हुँदा तुरुन्तै प्रतिक्रिया जनाउने प्रहरीका ती मोटरसाइकल अब नष्ट भएकाले द्रुत सुरक्षा प्रतिक्रिया प्रणालीमा समस्या देखिएको जनाइएको छ।
रेग्मीका अनुसार, स्थानीय र सर्वसाधारणको सहयोगमा आगजनी भएका युनिटहरूको पुनर्स्थापना कार्य सुरु भइसकेको छ।
‘हालसम्म करिब १० करोड रुपैयाँ बराबरको सहयोग जुटिसकेको छ,’ उनले भने, ‘तर संरचना, उपकरण र सवारीसाधनको अभावले अहिले पनि सुरक्षाकर्ममा चुनौती छ।’
प्रहरी स्रोतका अनुसार, आगजनी र क्षतिको प्रभावले संगठनको कार्यक्षमता केही हदसम्म प्रभावित भए पनि प्रहरीको मनोबल घटेको छैन।
डीआईजी रेग्मीले थपे, ‘प्रहरी हरेक संकटमा अगाडि उभिने संस्था हो, तर यस्तो अवस्थामा पनि प्रहरीमाथि अन्याय भएको महसुस भएको छ।’
