काठमाडौं । एउटा परिवार, जसको रगतमै उडान मिसिएको छ । जसको बुबादेखि नातिनीसम्पूर्ण पुस्ताले आकाशलाई आफ्नो घर बनाएका छन् । यही हो- रिजाल परिवारको गौरवशाली कथा जहाँ बुबा, तीन छोराहरू र अब नातिनी सबै उडानसँगै बाँधिएका छन् ।
८२ वर्षका गंगाप्रसाद रिजाल, शाही नेपाल वायुसेवा निगम (RNAC) का Senior Captain (रिटायर्ड), त्यो पुस्ताका पाइलट हुन्, जसले ट्वीनअटर र एभ्रो विमान उडाएर देशका दुर्गम पहाड र खोँच जोड्ने सपना साकार पारे । अहिले पनि, जब विमान आकाशमा गुड्छ, उनी सधैं मुस्कुराउँछन्- त्यो मुस्कान देश र यात्रुसँगको अपनत्वको हो ।
बुबाको बाटो पछ्याउँदै जेठा छोरा सुवास रिजाल (५८ वर्ष) अहिले पनि नेपाल वायुसेवा निगम (NAC) का Senior Captain का रूपमा कार्यरत छन् । उनले २४ हजार ५०० घण्टाभन्दा बढी आकाशमा बिताइसकेका छन् । सुवासका लागि उडान जागिर होइन, ‘जीवनको लय’ हो । उनी भन्छन्- ‘बादलभित्रको सन्तुलन र यात्रुहरूको मुस्कान, यही मेरो प्रेरणा हो ।’
त्यस्तै माहिलो छोरा सुदिप रिजाल (५३ वर्ष) ले आफ्नो यात्रालाई राष्ट्रिय सीमाभन्दा पर पु¥याएका छन् । उनी हाल संयुक्त राष्ट्रसंघको मुख्यालय, अमेरिका (UN Headquarters) मा विमान व्यवस्थापन प्रमुख (Deputy Secretary-General सरहको पद) मा कार्यरत छन् ।
सुदिप अहिले विश्वभरका शान्ति स्थापनाका उडानहरूको संयोजन र नियमनका जिम्मेवारीमा छन्- जहाँ पाइलटको अनुभवले कूटनीतिक आकाश पाएको छ ।
यसैगरी सबैभन्दा कान्छा श्रवण रिजाल (४८ वर्ष) यसै वर्ष २०२५ मा NAC बाट राजीनामा दिएर अहिले SriLankan Airlines मा Senior Captain बनेका छन् । उनले नेपालभन्दा परका आकाशमा नयाँ पाना लेखिरहेका छन्- कोलम्बोदेखि सिंगापुर, दुबई र लण्डनसम्म । उनी भन्छन्, ‘जहाँ आकाश खुला छ, त्यही मेरो बाटो हो ।’
तीन छोरासँगै, अहिले रिजाल परिवारको आकाशमा नयाँ पंख थपिएकी छिन्- आरुशा रिजाल (२७ वर्ष) । अमेरिकाबाट पाइलट तालिम पूरा गरेकी उनी, सुवास रिजालकी छोरी र गंगाप्रसाद रिजालकी नातिनी हुन् ।
उनले हालै नेपाल फर्केर ‘नयाँ पुस्ताको पाइलट’ का रूपमा परिवारको परम्परालाई निरन्तरता दिएकी छिन् । ‘जब मैले पहिलोपटक विमान नियन्त्रणमा लिएँ, लाग्यो हजुरबुबाको आत्मासँगै उड्दैछ,’ उनले मुस्कुराउँदै भनिन् ।
रिजाल परिवारको यो कथा केवल पाइलटहरूको इतिहास होइन- यो नेपाली अनुशासन, प्रतिबद्धता र गौरवको जीवित प्रतीक हो । तीन पुस्तादेखि उड्दै आएको यो यात्रा नेपाली युवाका लागि एउटा सन्देश हो, ‘उचाइ डर लाग्दैन, जब सपना स्पष्ट हुन्छ ।’
