काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले फेक समाचारबाट सचेत रहन अनुरोध गरेका छन् । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘फेक समाचार अलर्ट ! यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचारहरूमा मात्र विश्वास गर्नुहोस् । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी नलिएपछि जेनजी अगुवा सुदन गुरुङले अब सडकबाटै प्रहरीलाई देखाइदिने धम्की दिएको समाचार विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो ।
जुन कुराले गर्दा प्रहरी हाई अलर्टमा रहेको समाचार पनि बाहिरिएका थिए । काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको पनि समाचार सार्वजनिक भएका थिए ।