काठमाडौं । यो वर्षको मनसुनले देशभर बाढीपहिरोको जोखिम ल्यायो, तर दुई जिल्लामा भने यो संकट नियन्त्रणमा रह्यो । कारण थियो, प्रहरीको समयमै गरिएको समन्वय र नेतृत्व ।
जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरी र धादिङका एसपी भेषराज रिजालले जब निरन्तर वर्षा सुरु भयो, उनीहरूले तत्कालै सम्भावित जोखिम क्षेत्र पहिचान गरेर तयारी थाले ।
वर्षा बढ्दै जाँदा उनीहरू आफैं फिल्डमा उत्रिए । सडकमा अलपत्र यात्रु देखे भने सल्लाह दिए, जोखिम बढे भने सवारीसाधन ठप्प पार्न आदेश दिए । दुवै एसपीले आफ्नो क्षेत्रबाट समन्वयकारी भूमिका निर्वाह गर्दै पहिलो प्राथमिकतामा मानव जीवनको सुरक्षा राखे ।
‘पहिलो प्राथमिकता जहिले पनि जीवन हो । गाडी रोक्दा केही असुविधा भयो, तर ज्यान बच्यो,’ एसपी पुरीले भने । चितवन–मुग्लिन सडकखण्ड, जहाँ विगतमा हरेक वर्ष पहिरोले मानवीय क्षति पुर्याउँथ्यो, यसपटक भने सुरक्षित रह्यो ।
यस्तै धादिङ प्रहरीको कार्यक्षेत्र काठमाडौं नागढुंगादेखि मौवा खोलासम्म छ । पृथ्वी राजमार्गको लामो दुरीमा रहेको उक्त सडकमा पनि थुप्रै पहिरोहरु गए । बाटोहरु अवरुद्ध भयो । तर, धादिङ प्रहरीको सक्रियता र समन्वयले ठूलो क्षति हुनबाट रोकियो ।
‘हामीलाई सुरक्षा सुनिश्चित गर्नु नै हाम्रो कर्तव्य हो। यात्रुहरू सुरक्षित गन्तव्यमा पुगे भनेर जब देख्छु, त्यसले हाम्रो कामको वास्तविक अर्थ दिन्छ,’ एसपी भेषराज रिजालले भने ।
यसै क्रममा दुवै जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत दैनिक अपडेटहरू प्रदान गरे, जसले यात्रुहरूलाई बाटोको अवस्था र जोखिमबारे सचेत बनायो । त्यतिमात्र नभएर उनीहरुले माइकिङ नै गर्दै सुरक्षित रहन भनिरहे ।
सडकमा ट्राफिक व्यवस्थापन र पहिरो पन्छाउने कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर गायत्री शर्मा, इप्रका मुग्लिनका इन्स्पेक्टर प्रतिक सिंह र धादिङ ट्राफिक टोलीले पनि महत्वपूर्ण भूमिका खेले । उनीहरू दिन–रात सडकमै खटिई यात्रुहरूको सुरक्षा र मार्गदर्शनमा सक्रिय रहे ।
नतिजा स्वरूप, विगतमा यिनै सडकखण्डमा हुने मानवीय क्षति यस वर्ष रोकियो । एसपी पुरी र एसपी रिजालको उदाहरणीय नेतृत्वले संकटको समयमा प्रहरीको प्रतिबद्धता र जनमुखी दृष्टिकोणको मूल्य उजागर गरेको छ ।
