काठमाडाैं । नेपालमा जेनजी आन्दोलनको अवशेष अझै देशको मनमा बाँकी छ । त्यो आन्दोलनले देशभर ठूलो घाउ छोडेको थियो- सडकमा आगो, हावामा धुवाँ, अनि मुटुमा डर ।
त्यतिबेला देशले ठूलो मानवीय क्षति व्यहोरेको थियो । आन्दोलनको नाममा ठूला-ठूला संरचनाहरू जलाइए, प्रहरी कार्यालयहरू खोजी खोजी नष्ट गरिए ।
प्रहरीमाथि गरिएको निर्मम कुटपिट र हत्या प्रयत्नले सिंगो संगठनको मनोबललाई धक्का पुगेको थियो ।
त्यो समय साँच्चै नै देश रोइरहेको थियो । प्रशासन, सुरक्षा निकाय र नागरिक सबैको अनुहारमा पीडाको छायाँ फैलिएको थियो । तर, त्यो पीडाको घडी कटिसक्दा पनि अहिले अर्को विपद् देशमाथि आइलागेको छ ।
बाढी र पहिरोले फेरि एकपटक देशलाई रोइरहेको बनाइदिएको छ । बाढी–पहिरोका कारण अहिलेसम्म ४३ जनाले ज्यान गुमाइसकेका छन् । सयौँ घरबारविहीन भएका छन्, बाटोघाट, पुल, खेतबारी, बस्ती सबै तहसनहस भएका छन् ।
यस्तो विपद्को घडीमा फेरि उस्तै निःस्वार्थ भावनासहित, प्रहरी अग्रपंक्तिमा देखिएको छ । मुस्कुराउँदै, राहत बोकेर, उद्धारका लागि दौडिँदै ।
फोटोहरु भाइरल, चौतर्फी प्रहरीको प्रशंसा

नेपाल प्रहरी एउटा यस्तो फौजी संगठन, जसले देश दुःखमा पर्यो कि आफ्नै घर सम्झेर दौडिन्छ । अहिले पनि त्यही हो ।
अविरल वर्षासँगै बाढी–पहिरोले देशका धेरै ठाउँ उजाड बनाइरहेका छन्, तर प्रहरी भने त्यही जोखिमतिर दौडिरहेको छ- जनताको जीवन र जमिन बचाउन ।
बाढीले घर डुबाएका दृश्यहरू, पहिरोले बाटो काटेका क्षणहरू र आगोले सहर जलाइरहेका बेला देखिएको प्रहरीको उपस्थिति अहिले देशभरको गर्व बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूले एउटा कुरा स्पष्ट गर्छन्- ज्यानभन्दा ठूलो कर्तव्य मान्ने प्रहरीको अनुहार हेर्दा नै मानवीयताको अर्थ बुझिन्छ ।
इलाका प्रहरी कार्यालय सिजुवा, धनकुटाबाट खटिएको प्रहरी टोलीले बाढीमा फसेकी गौमाताको उद्धार गरेको तस्बिरले हजारौं हृदय छोएको छ । प्रहरीले प्राणीमाथि पनि त्यही समवेदना देखायो, जसरी उसले प्रत्येक नागरिकमाथि देखाउँछ । त्यो दृश्य शब्दभन्दा माथि छ- साँचो जनसेवा यही हो ।

त्यस्तै, राजारानी धनकुटास्थित चौबिसे गाउँपालिका–६ भेडेटार–रवि–राके सडकखण्डमा बाढीले अबरुद्ध बाटो हटाउँदै, क्षतिग्रस्त घरका परिवारलाई उद्धार गर्ने प्रहरीको समर्पणले फेरि एकपटक जनताको भरोसा जितेको छ । उनीहरूले केवल सडक खोलेका छैनन्, मानिसहरूको मनमा ‘सुरक्षा’ नामको विश्वास पनि खोलेका छन् ।
त्यसपछि प्रहरी टोलीले जनताको घरदैलोमा पुगेर सरसफाइमा समेत साथ दिएको छ । बाढीपछि दुर्गन्धित भएको बस्तीमा खाकी पोसाक देखिँदा स्थानीयको अनुहारमा सान्त्वना झल्किन्छ ।

अविरल वर्षाको कारण ललितपुरको गोदावरी–५ खत्रीगाउँमा पहिरोले अवरुद्ध सडक खुलाउँदै गरेको दृश्यले प्रहरीको साहस झल्काउँछ । त्यस्तै, गोदावरी–१४ ठैबमा पहिरोमा परेकाहरूको उद्धार र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजाँदा प्रहरीको मानवीयता फेरि चम्किन्छ ।
झापा भद्रपुर–५ मा पनि प्रहरीले बाढीको उच्च जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारेर जनताको पहिलो सहारा बनेको छ । यो केवल उद्धार होइन- चेतना, सहयोग र विश्वासको अभियान हो ।

प्रहरी अहिले केवल अपराध नियन्त्रणको प्रतीक होइन । विपद्को बेला सडकमा हिलोमा चिप्लिँदै, पानीमा घुटना डुबाउँदै, जनताको घरसम्म पुग्ने त्यो प्रहरी, देशको प्रत्येक नागरिकका लागि ‘दुःखको सारथी’ बनेको छ ।

सचेतना फैलाउँदै, सहयोगका हात बढाउँदै, प्रहरीले फेरि एकपटक प्रमाणित गरिदिएको छ।
संकटमा सबैभन्दा पहिले आउने नाम, र अन्तिममा फर्कने अनुहार नेपाल प्रहरी हो ।

