काठमाडाैं । नेपाल प्रहरीले विशेष अपरेसनमार्फत ६ जना व्यक्तिलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्रामसहित मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय रूपेश पौडेल समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको म.प्र.०३-००१ ज ०६७० नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ सनोटकोलेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश खड्का, ३८ वर्षीय दिपेश घिमिरे र ३४ वर्षीय रामहरी अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ च ११२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेश खड्का तथा गाडीमा सवार दिपेश घिमिरे र रामहरीलाई पक्राउ गरेको हो ।
यसैगरी, बर्दिया राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका अस्पताल टोल बस्ने २१ वर्षीय राहुल लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।
