काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उनको नजिकका समूहलाई ठिक पार्ने चेतावनी दिएका छन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार र त्यसका केही पात्रप्रति चर्को असन्तुष्टि जाहेर गर्दै बस्नेतले सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत र पारिवारिक पीडा सार्वजनिक गरेका छन्।
प्रतिशोधात्मक चेतावनीसमेत दिएका बस्नेतले आन्दोलनका क्रममा घरबार, प्रतिष्ठा र जीवनमाथि गम्भीर आक्रमण भएको बताएका छन्। जेन्जीले सेना उठाएर घर जलाउन लगाई ध्वस्त पारेको उनको आरोप छ।
बस्नेतले आफ्ना बुढा–बुवाआमालाई नै जिउँदै जलाएर मार्ने प्रयास भएको दाबी गरेका छन्। ‘मेरा बुढा बुबा आमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिस१ मेरो श्रीमतीलाई मार्न खोजेउ पहिचान नखुलेर बालबाल बचिस्।’ उनले भनेका छन्।
बस्नेतले मेयर बालेन्द्र र उनका निकट सहयोगीहरूमाथि व्यक्तिगत आक्षेपसहित सार्वजनिक विभाजन र चरित्रहत्या गरिएको आरोप लगाएका छन्। बालेनले भिक्टर, कुमार, केपी खनाल, राजिव, विरेन्द्रलगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर आफ्नो चरित्र हत्या गरेको आरोप पनि बस्नेतले लगाएका छन्।
आक्रमण र बदनामिका आरोपविरुद्ध बस्नेतले स्पष्ट चेतावनी दिएका छन– ‘ए बालेनका चेला, कान खोलेर सुन, तिमीहरुको पाइपाइ हिसाब हुन्छ। चुनचुनके बद्ला लिन्छु याद गर, देशभर हिँड्न नसक्ने हालतमा पुग्नेछस्। कानुन हातमा लिएर होइन कानुन साथमा लिएर तलाई ठिक पार्नेछु,’ उनले भनेका छन्।
यी वाक्यांशहरूले व्यक्तिगत बदला वा प्रतिशोधको संकेत देखाएको छ। पृष्ठभूमिमा भने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बस्नेतविरुद्धको साइबर मुद्दाको अनुसन्धान अघि बढाउन प्रहरीलाई थप निर्देशन दिएको खबर छ। यो तथ्यलाई ध्यानमा राख्दै बस्नेतका ती अभिव्यक्तिहरू अनुसन्धान र सुरक्षा निकायहरूका लागि संकेत र चुनौती दुवै बन्न पुगेका छन्।
