काठमाडौं । इला प्रहरी कार्यालय कैलाली, मालाखेतीमा कार्यरत एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरुद्ध उजुरी दर्ता भएपछि प्रहरी संगठनभित्रै छानबिन प्रक्रिया सुरु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत इन्स्पेक्टर दानसिंह भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमै वेनामे उजुरी परेको हो। विभिन्न आरोपसहित परेको उक्त उजुरीबारे प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार मालाखेतीका नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले भदौ २३ गतेदेखि औपचारिक रुपमा उजुरीमाथि अनुसन्धान थालेको बताइएको छ।
यसअघि भण्डारीलाई केही महिना अघि कञ्चनपुरस्थित दंगा नियन्त्रण प्रहरी गणमा काज सरुवा गरिएको भए पनि रमाना भने दिइएको थिएन।
यस्तै, धनगढीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत सई दिपेन्द्र किमाडीविरुद्ध पनि केही दिनअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ। उजुरीपछि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको बताइएको छ।
