काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
बौद्धस्थित दीपज्योति बैंक्वेटमा सोमबार बसेको पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले पदत्याग प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृति प्रदान गरेको हो ।
पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार अब पार्टीको महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।
जसअनुसार उपाध्यक्ष दुर्गा सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य–सचिव र कृष्ण शर्मा प्रवक्ता जिम्मेवारीमा रहनेछन्।
केन्द्रीय सदस्य टङ्क धमलाले नेसपा (नयाँ शक्ति) ले आउँदो फागुनसम्म विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको जानकारी दिए ।
यससँगै अब नेसपाको नेतृत्व महाधिवेशनसम्म दुर्गा सोबको अध्यक्षतामा अघि बढ्ने भएको छ।