जेएनजी आन्दोलनपश्चात् नेपाल प्रहरीले गम्भीर संकट सामना गुर्नपर्यो । प्रहरी चौकी आक्रमण, कार्यालय आगजनी, जवानमाथि ज्यानमारा प्रहार यी सबैले क्षणिक रूपमा प्रहरीको संरचना र साधन–स्रोतलाई कमजोर पारे । धेरैले यही अवसरमा ‘प्रहरीको मनोबल भाँचिन्छ’ भन्ने अनुमान गरे ।
तर वास्तविकताले यसको उल्टो चित्र देखायो, नेपाल प्रहरी झनै आत्मविश्वासी बनेर उभियो । जुत्ता नभएकाहरु चप्पलमा, पोसाक नभएकाहरु सादा पोसाकमा, स्थायी कार्यालय नभए पनि अस्थायी टेन्टभित्र बसेर सेवामा निरन्तर खटिएका प्रहरीहरुले ‘कर्तव्य नै पहिलो’ हो भन्ने सन्देश दिए ।
प्रहरी सेवामा निरन्तर जुटिरहेको जुन दृश्यहरु यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल समेत भएको छ ।
तल्लो दर्जादेखि वरिष्ठ अधिकारीसम्म एउटै पीडाबाट गुज्रनु नै प्रहरी संस्थालाई अझै बलियो बनाउने आधार बन्यो । यो साझा दुःख, साझा संघर्ष र साझा प्रतिबद्धताले नै प्रहरी संगठनलाई अझै एकजुट र शक्तिशाली बनाएको छ । जसले गर्दा संगठनभित्र एकताको नयाँ ऊर्जा भरेको छ ।
प्रहरीमाथिको आक्रमण केवल संरचनात्मक क्षति मात्र थिएन, यो संस्थागत मनोबलमाथिको प्रत्यक्ष परीक्षा पनि थियो । तर नेपाल प्रहरीले दुःखलाई कमजोरी होइन, आत्मबलमा परिणत गरेको छ ।
यसबाट दुई स्पष्ट सन्देश बाहिर आएको छ- पहिलो, प्रहरीलाई शारीरिक साधन–स्रोतले मात्र होइन, आन्तरिक अनुशासन र कर्तव्यबोधले बलियो बनाउँछ । दोस्रो, संकटकै बेला प्रहरीको वास्तविक स्वरूप राष्ट्रलाई प्रकट हुन्छ ।
अब प्रश्न उठ्छ- यो संघर्षमा परीक्षित संस्थालाई कसरी अझै सक्षम बनाउन सकिन्छ ? प्रहरीलाई कमजोर देख्ने, दोषारोप गर्ने वा एक्लै छाड्ने समय यो होइन । बरु जनताले विश्वास थप गहिर्याउने, सरकारले साधन–स्रोतमा लगानी बढाउने र समाजले मनोबल थप्ने बेला हो ।
शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठन नै राज्यको मेरुदण्ड हो । त्यसैले यो दुःखको घडीमा प्रहरीलाई सहयोग गर्नु, मनोबल बढाउनु, आत्मबललाई अझै दृढ पार्नु पनि हाम्रो सामूहिक कर्तव्य हो ।
शान्ति सुरक्षा बिना विकास सम्भव छैन र शान्ति सुरक्षा बिना लोकतन्त्रको आधार पनि कमजोर हुन्छ । त्यसैले, प्रहरीलाई बलियो बनाउनु भनेको राष्ट्रलाई बलियो बनाउनु हो । संघर्षको आगोमा जलेर कठोर बनेको प्रहरी आज केवल सुरक्षाकर्मी मात्र होइन, राष्ट्रकै ढाल बनेर अगाडि बढिरहेको छ ।
