काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले नवनियुक्त उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङविरुद्ध गम्भीर आरोप लगाएका छन् ।
बस्नेतले मन्त्री घिसिङमाथि आफ्नै भजिताको ५० प्रतिशत शेयर भएको लामा कन्स्ट्रक्सनबाट कमाउने काम सुरु गरेको आरोप लगाएका हुन् ।
बस्नेतले लामा कन्स्ट्रक्सनले सूर्यविनायक–धुलिखेल सडक खण्डको आयोजना तत्कालिन प्रचण्ड सरकारसँग मिलोमतो गरी पैसा बाँडफाँड गरेर हात पारेको थियो भनेर पनि आरोप लगाएका छन् ।
अहिले मन्त्री घिसिङले त्यही सडक खण्डको निरीक्षण गर्ने बहानामा भेरियसन गरेर आफ्ना भजिताहरुलाई बजेट दिन चाहेको पूर्वमन्त्री समेत रहेका बस्नेतको आरोप छ ।
उनले फेसबुकमा लेखेका छन्-
कुलमान घिसिङको कमाउने गजबको कायदा आफ्नै भतिजोको ५० प्रतिशत सेयर भएको लामा कन्स्ट्रक्सन बाट सुरु हुन्छ। यसै कम्पनीले सूर्यविनायक–धुलिखेल सडक खण्डको आयोजना तत्कालीन प्रचण्ड सरकारसँग मिलोमतो गरी पैसा बाँडफाँड गरेर हात पारेको थियो। त्यसको निरीक्षण गर्ने बहानामा भेरिएसन गरेर आफ्ना भतिजाहरुलाई उनी बजेट दिन चाहन्छन्।
उनी कहिले सिन्धुपाल्चोक–चीन सिमानामा भएको इको पहिरो हेर्न पुग्छन्, कहिले मध्यभोटेकोशी हाइड्रोपावर अवलोकन गर्छन्। यो त्यही ठाउँ हो जहाँ उनी एमडी हुँदा विद्युत प्राधिकरणमार्फत नियमित कमाइ धन्दा चलाउँथे।
बुढापाकाको भनाइ छ , ‘धर्म पनि, पैसा पनि एकैचोटि कमाइँदैन।’ तर कुलमान भने यस्तो पात्र बने जसले पैसा पनि कमाए, सोझा–साझा जनतालाई झुक्याएर पपुलरिटी पनि कमाए। यी सबै खेलमा विगतदेखि नै उनले पालनपोषण गरेका युट्युबहरू सक्रिय देखिन्छन्।