काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले पनि शिवपुरीस्थित सेनाको ब्यारेकमा उपचार गरिरहेका छन् ।
देउवाको टाउकोमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइएको छ । जानकार नेताहरुका अनुसार उनलाई अहिले पनि निद्रा राम्रो परेको छैन । उठ्दा रिंगटा लागिरहेको छ । चिकित्सकहरुले देउवालाई आराम गर्न सुझाव दिएका छन् ।
देशमा सत्ता परिवर्तन भएको बेला उनी भने शिवपुरीस्थित सेनाको ब्यारेमा बसिरहेका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा योद्दामाथि भएको हमलालाई उहाँले सामान्य रुपमा लिनुभएको छैन’, देउवासँग भेटेर आएका एक नेताले भने ।
गैरदलीय सरकारको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । यो अन्तरिम सरकारको म्याण्डेट आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो ।
नेपाली कांग्रेसका सभापति एवं पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा र उनकी धर्मपत्नी आरजु भने आन्दोलनकारीको निर्मम कुटाईबाट घरमै सख्त घाइते भएका थिए । देउवा दम्पतीलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराइरहेको हो । उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ ।
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा छन् ।
