काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटका बारेमा निष्पक्ष छानबिन होस् भन्ने चाहना राखेका छन् ।
अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष छानबिनबाट सत्य बाहिर ल्याउनुपर्नेमा उनको जोड छ। सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर पत्रकारसँग कुरा गर्दै शर्माले यस विषयमा सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायहरूले अनुसन्धान गरिरहेका भन्दै त्यसैको नतिजालाई स्वीकार गर्नुपर्ने स्पष्ट पारेका छन्।
शर्माले कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमै पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले उठाएको प्रश्न स्मरण गर्दै यसलाई स्पष्ट पार्ने जिम्मेवारी सभापति निवास पक्षकै हुने बताए।
उनले आफूले यस विषयमा ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै राज्यका निकायमार्फत मात्र वस्तुगत सत्य बाहिर आउने स्पष्ट पारे। ‘अनुमानले होइन, अनुसन्धानले मात्र सत्य देखाउँछ,’ उनले भने।
देउवा निवासमा जलेका नोट भेटिएको भन्दै चर्चित बनेको घटनामा कांग्रेस महामन्त्री शर्माले हल्ला र चर्चाभन्दा छानबिनलाई प्राथमिकता दिन आग्रह गरेका छन्। यसअघि देउवाको सचिवालयले सार्वजनिक गरेको तस्बिर र भिडियो वास्तविक नभएको चर्चा पनि छ।
शर्माले पार्टी र सभापतिको दुवै स्वास्थ्य सुदृढ हुनुपर्नेमा जोड दिँदै भने, ‘सभापतिजीको स्वास्थ्य लाभ हुँदै गरेको बेला शुभकामना दिन जरुरी छ। त्यत्तिकै पार्टीलाई पनि स्वस्थ बनाउन ध्यान दिनुपर्छ।’
उनले संकटमा परेको पार्टीलाई उत्थान गर्दै नयाँ सन्दर्भमा अघि बढाउनु अहिलेको अनिवार्य दायित्व भएको बताए। जेनजी आन्दोलनपश्चात पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको बहसबारे उनले मंसिरभित्र महाधिवेशन गर्ने तयारी आवश्यक रहेको प्रष्ट पारे।
