काठमाडौं । अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण गराएका हुन् ।
रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह , कानून तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सहभागी थिए ।
यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन् । जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको थियो ।
योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ । आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल,अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। गृहमन्त्री अर्याल कानूनविद् हुन् । यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् ।
