देश अहिले पूर्ण रूपमा नेतृत्वविहिन छ। जेएनजी आन्दोलनले देशभरि आगो सल्काइरहेको छ। यही आन्दोलनको चपेटामा प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गरे। उनको राजीनामासँगै मुलुक राजनीतिक अनिश्चितताको गहिरो भूमरीमा छ।
ओलीको राजीनामापछि नेपाली सेनाले अन्तरिम सरकार गठनको गृहकार्य अघि बढाएको छ। प्रधानसेनापति अशोकराज सिग्देल सक्रिय रूपमा छलफलमै छन्। उनले जेएनजी समूहका प्रतिनिधिहरूसँगै विभिन्न प्रभावशाली व्यक्तिहरूसँग निरन्तर सल्लाह गरिरहेको स्रोत बताउँछ। तर, कसको नेतृत्वमा नयाँ सरकार बन्ने भन्नेबारे स्पष्टता अझै छैन ।
यस्तै अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल पनि राजनीतिक दलका नेतादेखि सुरक्षा निकायका उच्च अधिकृतसम्मसँग छलफलमा व्यस्त छन् । सबै पक्षको धारणा एउटै छ- अब मुलुकलाई केवल एउटा ‘राजनीतिज्ञ’ होइन, परिस्थितिलाई नियन्त्रण गर्न सक्ने बलियो नेतृत्व आवश्यक छ ।
यस्तो परिस्थितिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङका नाम चर्चामा छन्। यी दुवै व्यक्तिहरू देशका लागि सक्षम र योग्य हुन्। तर, जेएनजी समूह यहाँपनि विभाजित देखिन्छ ।
यतिमात्र होइन, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम पनि चर्चामा छ । तर, खनालको नाम चर्चामा आइरहँदा अहिलेसम्म कुनै समूहले विरोध भने गरेका छैनन् । जसले गर्दा खनाललाई वर्तमान सरकारको नेतृत्व दिएर अघि बढ्न केही विज्ञहरुले सुझाव समेत दिएका छन् ।
खनाल प्रहरी संगठनमा रहँदा अपराधीलाई कहिल्यै छूट नदिने अनुशासन र निर्णायक क्षमताका खनालले ठूलो आपराधिक गिरोहलाई धराशायी पारेर आफ्नो कार्यकालमा कानून र सुरक्षामा दृढता देखाएका थिए। जसले गर्दा उनको जताततै प्रशंसा हुन्थ्यो।
आफ्नो कार्यकालमा उनले प्रहरी संगठनलाई संगठन जस्तो बनाए, जसको अहिलेपनि चौतर्फी चर्चा हुनेगर्छ। चेन अफ कमाण्डमा चल्ने संगठनलाई आफ्नो कार्यकालमा खनालले राजनीतिमुक्त बनाए, जसले गर्दा अन्यायमा परेका अधिकृतहरुले नेतृत्वको आभाष गरे।
यहीकारण, अहिले केही जेएनजी आन्दोलनका युवा पनि उनको नेतृत्वमा देशलाई नयाँ दिशा मिल्ने आशा राख्छन्। प्रहरी सेवामा आफ्नो कठोर छविका कारण चर्चित खनाललाई संकट व्यवस्थापनमा ‘ट्रबलशूटर’ मानिन्छ। खनालको नेतृत्व शैली कडा, निर्णायक र व्यावहारिक मानिन्छ।
जेएनजी आन्दोलनमा संलग्न केही युवाहरूले पनि उनीप्रति विश्वास देखाएका छन्। उनीहरूको धारणा छ—खनाल जस्तो व्यक्ति नेतृत्वमा आएर देशको बागडोर सम्हाल्दा केही न केही सकारात्मक परिवर्तन अवश्य हुनेछ।

कार्की र घिसिङ योग्य व्यक्ति हुन्, प्रशासनिक र राजनीतिक क्षेत्रमा ठोस अनुभव राख्छन्। तर, अपराध र अस्थिरता व्यवस्थापनमा खनालको अनुभव उनीहरूसँग तुलना गर्दा कम छैन, बरु अझ बढी प्रायोगिक र निर्णायक छ। देशको सान माथि उठाउने काममा उनी अन्य विकल्पभन्दा अग्रणी छन्।
खनाल केही समय एमाले भए। तर दलाल र भ्रष्टाचारले भरिएको वातावरणले उनलाई मोहभंग गरायो। आफ्नो करियर मात्र नभई चरित्र बिग्रिन सक्ने डरले उनले पार्टी छोडे। त्यसपछि उनी युवाहरूसँग सहकार्य गर्न थाले, जसले उनलाई जेएनजी समूहका केही युवाहरूको विश्वास जित्न मद्दत गर्यो।
००००
यसैबीच खनाल यतिबेला चुपचाप बसिरहेका छन्, तर उनको अनुशासन, अनुभव र निर्णय क्षमता अहिले मुलुकका लागि सबैभन्दा बलियो आधार हुनसक्छ। खनालजस्तो व्यक्ति अगाडि आउने चर्चा बढ्नु भनेको मुलुकमा अब ‘नागरिक नेतृत्वको सुरक्षा मोडेल’ लागू गर्न सकिने सम्भावना देखिनु पनि हो।
सवाल यही छ—के देशले अब यस्तो हातलाई बागडोर दिन तयार छ, जसले अपराधलाई नछोडेको छ र देशको सान न कहिले झुकाएको छ ? एक पटक खनालको नेतृत्वमा सोच्नु नै अहिलेको परिस्थिति अनुसार सबैभन्दा व्यावहारिक विकल्प हो जस्तो देखिन्छ।
नेपालजस्तो संकटग्रस्त मुलुकलाई अहिले कूटनीति, प्रशासन र सुरक्षा तीनै क्षेत्रमा दख्खल राख्ने व्यक्ति आवश्यक छ। खनालको अनुभव र निर्णायक क्षमताले यो रिक्तता पूरा गर्न सक्ने आशा तपाईंहामी माझ छ ।
