सोमबारदेखि नेपाल आगो र अराजकताको चपेटामा छ। सडकमा जनता आतंकित छन्, प्रहरी चौकीदेखि सरकारी भवनसम्म लुटपाट र आगजनी भइरहेका छन्। दशौं वर्षको मेहनत र लगानीले बनेका संरचना र स्रोत क्षणभरमै ध्वस्त भइरहेका छन्।
प्रहरी बृत्तहरू जलाइएका छन्, कार्यालयहरू भत्काइएका छन्, गाडीहरू ध्वस्त पारिएका छन्। यो अराजकता केवल आकस्मिक घटना होइन। प्रहरीलाई अपांग बनाउन खोजिएको हो भन्ने ठहर यस घटनाक्रमले बल दिन्छ। प्रहरीलाई लक्षित गरेर गरिएका आक्रमणहरूले केवल राज्यको असक्षमता मात्र होइन, यसको नियोजित स्वरूप पनि प्रष्ट पारिरहेका छन्।
यस्तो संवेदनशील समयमा नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र मुलुकको स्थिरता कायम राख्न अग्रणी भूमिका खेल्नुपर्ने नेपाली सेना भने मौन बस्यो । व्यारेकमै सीमित भएर बसिरहेको सेना मुलुकको संकटलाई टुलुटुलु हेरेर बसिरहेको दृश्यले नागरिकको मनमा गहिरो चोट पुर्याएको छ।
सधैं देशको कठिन घडीमा सेना सक्रिय हुन्छ भन्ने जनआस्था ध्वस्त भएको छ। किनभने जब जनताको मात्र नभएर राज्यकै धनजन सुरक्षित राख्नुपर्ने बेला थियो, सेना निष्क्रिय भयो। जब प्रहरी चौकीहरू जलाइँदै थिए, प्रहरीलाई आक्रमण गरेर अपमानित पारिँदै थियो । जतिबेला सेना ब्यारेकमा लुकेर बस्यो । यो केवल एउटा गल्ती होइन, यो मुलुकको सुरक्षा मानसिकतामै परेको ठुलो चोट हो।
आज जनताको विश्वास सुरक्षा संयन्त्रबाट हराउँदै गएको छ। प्रहरीलाई मात्र जिम्मेवार ठहर्याउने प्रवृत्तिले पनि समस्या समाधान गर्ने छैन। किनभने मुलुकको अन्तिम र सर्वोच्च सुरक्षा संयन्त्रको रूपमा सेना नै जिम्मेवार छ। इतिहासको कठिन घडीहरूमा सेना हरेकपटक समयमै उठेर मुलुकको रक्षा गर्न असफल देखिँदा यो संस्थाको अस्तित्व नै प्रश्नवाचक बन्दै गएको छ।
जनप्रीय राजा र उनका संरचना जोगाउन नसकेको इतिहासको दाग अझै ताजा छ। अहिले त्यही दागलाई अझ गहिरो बनाउने काम फेरि भइरहेछ- देश जलिरहँदा सेना मुकदर्शक बनेर बसिरह्यो। यो केवल सेनाको मौनता होइन, यो संस्थागत कायरताको प्रत्यक्ष प्रमाण हो।
जनता आज पनि सोधिरहेका छन्- के नेपाली सेनाको काम केवल सीमापारि शत्रु खोज्नु मात्र हो? आफ्नै मुलुकमा भित्रैको अराजकतामा हस्तक्षेप गर्न किन उनीहरू असमर्थ छन्? किन सार्वजनिक सम्पत्ति ध्वस्त भइरहँदा, अपराधीहरू जेलबाट सजिलै भागिरहेका बेला सेना हात बाँधेर बसिरहेको छ? यो संस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठाउने समय आएको छ।
आजको निष्क्रियता इतिहासमा कालो अक्षरमा लेखिनेछ। भविष्यका पुस्ताले यो दिनलाई सम्झिँदा सेना र अन्य सुरक्षा संयन्त्रलाई असफल, कायर र केवल देखावटी परेडमा रमाउने संस्था भनेर चिन्नेछन्। मुलुक जलिरहँदा, जनता आतंकित हुँदा र सम्पत्ति ध्वस्त हुँदा आफ्नो जिम्मेवारीबाट पन्छिएको सेनाले यो राष्ट्रलाई मात्र होइन, आफ्नो गौरवलाई पनि नोक्सान पुर्याएको छ।
यो घडी आत्ममन्थनको हो। सेना, प्रहरी, सशस्त्र प्रहरी सबैलाई आफ्ना जिम्मेवारीबारे पुनर्विचार गर्नुपर्ने समय आएको छ। जनताको सुरक्षा र सम्पत्तिको रक्षा केवल कागजी घोषणाले सम्भव हुँदैन। मुलुकलाई संकटबाट निकाल्ने शक्ति त्यही हो जसलाई जनताले अझै विश्वास गर्न सक्छन्। तर यदि यो विश्वासलाई पनि सेनाले आजको जस्तै मौनताले धोका दियो भने, यो मुलुक मात्र होइन, सेनाको प्रतिष्ठा र अस्तित्व नै धरापमा पर्नेछ।
जय नेपाल !
