काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति सरकारको असंवेदनशीलता र चरम दमन निन्दनीय भएको बताएका छन् ।
थापाले एक विज्ञप्तिमार्फत् सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।
उनका अनुसार, “आज युवा पुस्ता (जेनजी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद र अस्वभाविक छ। आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन।”
थापाले यस घटनालाई शान्तिपूर्ण आन्दोलनमाथि अनावश्यक हिंसाको रूपमा वर्णन गर्दै, गृहमन्त्री रमेश लेखकले दिएको राजीनामा पर्याप्त नभएको बताए। उनले भने, “यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। तर यसले मात्र पर्याप्त हुँदैन।”
उनले जेनजीले उठाएका मुद्दा—सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नको कारबाही—देशकै आम सरोकारका विषय भएको उल्लेख गरे। साथै, संविधान संशोधन, भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुन संशोधन गरी उच्चस्तरीय आयोगको नेतृत्वमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग राखेका छन्।
महामन्त्री थापाले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको उल्लंघन भन्दै खारेज गर्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।
उनले भने, “सामाजिक सञ्जाल बन्द गर्नु गलत छ। कुनै पनि निर्देशिका, २०८० संविधान वा कानुनसम्मत नभएकाले यसको अविलम्ब खारेज गर्नुपर्छ।”
थापाले गठबन्धन सरकारको औचित्यसमेत प्रश्न गर्दै कांग्रेसलाई पुनर्विचार गर्न सुझाव दिएका छन्। साथै, युवाहरूलाई शान्तिपूर्ण आन्दोलन संयमतापूर्वक अगाडि बढाउन अपील गरेका छन्।
