काठमाडौं । नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले एमालेको एकता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् ।
विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै पत्रमार्फत धारणा सार्वजनिक गरेकी भण्डारीले यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको स्पष्ट गरेकी छन् ।
उनले लेखेकी छन्, ‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु। आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न पार्टी र सिङ्गो राष्ट्रका लागि गम्भीर छ।’
साउन ५–६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको नवीकृत सदस्यतामाथि प्रश्न उठाएपछि उनले पत्रमार्फत आपत्ति जनाएकी हुन्। उनले यसअघि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा कहिल्यै सदस्यता विवाद नउठेको तर अहिले मात्र उठाइएकोमा आश्चर्य प्रकट गरिन्।
२०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भएको र सामान्य नागरिक बनेपछि नेतृत्वकै सल्लाहमा सदस्यता नवीकरण गरेको भण्डारीको दाबी छ। उनले २०८२ असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा सदस्यता नवीकरण भएको घोषणा भएको स्मरण गरिन्।
भण्डारीले सदस्यता नवीकरण नभएको भन्दै सञ्चारमाध्यममा भ्रम फैलाउने केही नेतामाथि असन्तोष प्रकट गर्दै भनिन्, ‘जबजले सिकाएको लोकतान्त्रिक संस्कारसँग यस्तो प्रवृत्ति मेल खाँदैन।’
उनले पार्टीमा विधि, पद्धति र लोकतान्त्रिक अभ्यास कमजोर भए सम्पूर्ण संगठन प्रभावित हुने चेतावनी दिँदै नेतृत्वलाई एकताबद्ध वातावरण बनाउन आग्रह गरिन्। ‘मेरो प्रयास पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन हो। यस्तो प्रयासलाई कमजोर पार्ने प्रवृत्ति रोक्नुपर्छ,’ भण्डारीले भनिन्।
