काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । फेसबुकमार्फत चरित्र हत्या, अपमान र बदनाम गर्ने कार्यमा संलग्न भएको आरोपमा महरविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।
महरले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि हुन आएको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले क्षतिपूर्तिसहितको सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार अभियोग पत्र अदालतमा दर्ता भए पनि ऐन महर अदालतमा उपस्थित भएपछि थुनछेक बहस हुनेछ ।
महरले आफ्नो फेसबुक आईडी प्रयोग गरी महिलाको नाम जोडेर लाइभ भिडियोमार्फत चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको अभियोग पत्रमा उल्लेख छ । उनले आफूले भोग्नु परेको मानसिक यातनाको उचित मुल्याङ्गकन गरी मानसिक क्षतिपूर्तिको समेत माग गरेकी छिन् ।
अभियुक्त महरले भने जाहेरीमा उल्लेख गरिएका सबै कुरा झूटो भएको दाबी गरेका छन् ।
