काठमाडौं । १८ भदौ राति १२ बजेबाट दिपक थापाले प्रहरी महानिरीक्षक (आईजीपी)को कुर्सीबाट औपचारिक रूपमा अवकाश लिँदैछन्। ३० वर्ष लामो प्रहरी जीवनमा उनी अनुशासित, कर्मठ र अब्बल क्षमताका अधिकृतका रूपमा चिनिएका थिए।
प्रारम्भिक दिनदेखि नै घटनास्थलमै खटिने, अनुसन्धानमा गहिरो ध्यान दिने र नेतृत्व गुण देखाउने थापालाई धेरैले भविष्यको प्रहरी प्रमुखका रूपमा हेरेका थिए। तर, नेतृत्वको शिखरमा पुगेपछि उनको छवि उल्टो दिशामा गयो।
गत २०८१ चैत ५ गते आईजीपी बनेका थापासँग सुरुवातमै ठूलो अपेक्षा थियो। अपराध नियन्त्रणमा कडाइ, संगठनलाई अनुशासनमा बाँध्ने र विवादमुक्त बनाउने प्रतिबद्धता उनले सार्वजनिक गरेका थिए।
तर, छोटो ६ महिनाको कार्यकाल उनको लागि ‘आशा भन्दा बढी आलोचना’ को पर्याय बनेर सकियो।
ठेक्का प्रकरणले हल्लिएको संगठन
थापाको कार्यकालको सबैभन्दा ठूलो घाव प्रहरी सामान खरिद–ठेक्का प्रकरण बन्यो। प्रक्रियागत त्रुटि, पारदर्शिताको कमी र नजिकका व्यापारीलाई फाइदा पुग्ने गरी गरिएको भनिएका निर्णयले संगठनकै छवि धुमिल बनायो। प्रहरी नेतृत्वकै कारण आर्थिक अनियमितताको छायाँ परेको भन्दै उनी निरन्तर आलोचनामा परे।
सरुवामा देखिएको चलखेल
प्रहरी संगठनमा सरुवा–बढुवा नियमित प्रक्रिया हो। तर थापाको नेतृत्वमा यो विषयभन्दा बढी विवादित बन्यो। नातावाद, पहुँच र चाकडीलाई प्राथमिकता दिइएको आरोपले संगठनभित्रै असन्तुष्टि चुलियो। कतिपय योग्य अधिकृतहरू पन्छाइए, शक्तिशाली र नजिकका अधिकारीलाई भने सशक्त पदमा पु¥याइएको गुनासो उठ्यो।
तिनकुने घटना : प्रहरीप्रतिको विश्वास कमजोर
काठमाडौंको तिनकुनेमा घटेको घटना थापाको कार्यकालमा अर्को चर्चित विवाद बन्यो। अपराध नियन्त्रणमा प्रहरी असफल देखिएको, घटनालाई व्यवस्थापन गर्न नसकिएको र सामान्य सुरक्षात्मक कदममा समेत ढिलाइ भएको भन्दै आलोचना भयो। यस घटनापछि प्रहरीप्रतिको जनविश्वास थप कमजोर बन्यो।
संगठनभित्रको असन्तुलन
थापाको कार्यशैलीप्रति संगठनभित्रै पनि मिश्रित प्रतिक्रिया आयो। आन्तरिक समन्वयको कमी, निर्णयमा व्यक्तिगत सम्बन्ध र पहुँचको प्रभाव, तालिमदेखि प्रशासनिक कामसम्ममा देखिएको असन्तुलनले संगठनलाई नै दबाबमा पारेको थियो। उनका केही नजिकका अधिकृत लाभान्वित भए, अरू भने निराश बने।
सफल होइन, असफल मूल्यांकन
थापाको प्रारम्भिक छवि ‘अब्बल क्षमताका अधिकृत’को थियो। तर, नेतृत्वमा पुग्दा अपेक्षा अनुसार परिणाम निकाल्न नसक्दा उनको मूल्यांकन ‘सफल भन्दा बढी असफल’तिर ढल्किएको छ। ठेक्का, सरुवा र तिनकुनेजस्ता विवादहरूले उपलब्धिलाई छायामा पारे।
थापाको तीन दशक लामो सेवा जीवनमा उनले देखाएको अनुशासन, परिश्रम र क्षमताले उनलाई प्रहरी नेतृत्वसम्म पुर्यायो। तर, नेतृत्वमा पुगेपछि भने उनले संगठनलाई विवादमुक्त बनाउन सकेनन्। छोटो कार्यकाल भए पनि थापाको आईजीपी यात्रा प्रहरी इतिहासमै आलोचनायुक्त अध्यायका रूपमा दर्ज हुने देखिन्छ।
अब खापुङको हातमा प्रहरी
थापाको अवकाशसँगै सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुबेर खापुङलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। वरिष्ठताको आधारमै गरिएको यो नियुक्तिसँगै अब संगठनको भविष्य खापुङको हातमा गएको छ।
खापुङका लागि पहिलो चुनौती संगठनको बिग्रिएको छवि सुधार्नु हो। ठेक्का र सरुवामा देखिएका असन्तुलनलाई पारदर्शितामा लैजानु, अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्नु र प्रहरीप्रतिको जनविश्वास पुनःस्थापित गर्नु उनको प्रमुख जिम्मेवारी बन्नेछ।
अब खापुङले त्यस इतिहासलाई पुनःलेखन गर्ने अवसर पाएका छन्।
