वीरगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र बहादुर आमात्य पर्सा–२ बाट उम्मेदवारीको तयारीमा छन्। उनी संविधानसभा सदस्यका रूपमा २०७० सालमा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भएका थिए। अहिलेको यो ‘कमब्याक’ले कांग्रेसभित्र शक्ति सन्तुलन बदल्ने संकेत दिएको छ।
अघिल्लो चुनावमा नेपाली काग्रेस बाट बिजयी अजय कुमार चौरसियाको क्षेत्रमै आमात्य प्रवेश गर्न लागेपछि स्थानीय राजनीति नयाँ मोडमा पुगेको विश्लेषकहरूको भनाइ छ।
२०७९ को चुनावमा अमात्यलाई टिकट नपाई नेपाली काग्रेसको केन्द्रीय सदस्य समेत रहेका अजय चौरसियालाई टिकट पाएको थियो।चौरसिया जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई झिनो मतको अन्तरले पराजित गरेका थिए।चौरसिया नेपाल सरकारको कानुन मन्त्री हुन्।
चौरसिया मन्त्री भएपनी उनको कामकाजले क्षेत्र नम्बर बासी असन्तुष्ट रहेको स्थानीयहरु बताउँछन् ।
संविधान सभा सदस्य आमात्य भन्छन्, “संविधान लेख्नु भनेको इतिहास लेख्नु हो। जातीय, भाषिक, क्षेत्रीय र राजनीतिक भिन्नताबीच सहमतिसहित संविधान बनाउन सक्नु हाम्रो पुस्ताको ऐतिहासिक योगदान हो।”
स्थानीय कार्यकर्ता र जनताले पनि उनलाई स्वागत गर्ने मनस्थितिमा देखिन्छन्। एक युवाले भने, “हामीलाई सुन्ने, सेवा गर्ने र सिद्धान्तमा अडिने नेता चाहिएको हो। आमात्य त्यही नेता हुन्।”
विश्लेषकहरूका अनुसार उनको उम्मेदवारीले पर्सा–२ मा जातीय समीकरण, गुटगत शक्ति र स्थानीय नेतृत्वको हैसियत फेरबदल गर्न सक्छ। चौरसियाको स्थापित संरचनालाई चुनौती दिन आमात्यको ‘स्वच्छ छवि’ र ‘संविधान निर्माताको भूमिकाले’ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।
संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका अमात्य सहिद पुत्र तेजबहादुर अमात्यका छोरा हुन् । उनी दुई पटक नेपाली काँग्रेस पर्साको सभापति समेत रहिसकेका छन् । उनी काँग्रेस भित्र संस्थापन इतर पक्षका शेखर कोइरालाको समूहका नेता हुन् भने चौरसिया संस्थापन पक्षका पार्टी सभापति शेर बहादुर देउवा पक्षका नेता हुन् ।
अहिलेसम्म आधिकारिक निर्णय नभए पनि पर्सा–२ कांग्रेसको उच्चस्तरीय प्रतिस्पर्धाको क्षेत्र बन्ने पक्का छ। अब प्रश्न यही हो – कांग्रेसले उम्मेदवार छान्दा अनुभव र जनसेवामा भर पर्छ कि फेरि गुटगत सन्तुलनमै अडिन्छ?
