काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत केनाइन उपशाखा, जनकपुर विमानस्थलमा कार्यरत विष्फोटक पदार्थ खोज्ने तालिमप्राप्त कुकुर ‘मेसी’ साउन २ गतेदेखि औपचारिक रूपमा सेवानिवृत्त भएका छन् ।
जर्मन सेफर्ड जातको मेसीले नेपाल प्रहरी सेवामा ७ वर्ष ९ महिना २० दिनसम्म विभिन्न सुरक्षामूलक जिम्मेवारीमा सेवा दिएका थिए । उनले जनकपुर, वीरगञ्ज, सर्लाही, रौतहटलगायत स्थानहरूमा हुने कार्यक्रम तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा सक्रिय रूपमा खटिने गरेका थिए ।
प्रहरी कार्यालयका अनुसार मेसीले दर्जनौ संवेदनशील कार्यक्रम, सुरक्षासम्बन्धी अपरेसन तथा बमजस्ता शंकास्पद वस्तु पहिचानमा उल्लेखनीय योगदान दिएका थिए । उनको सूँघ्ने क्षमता, तालीम र अनुशासनका कारण उनी सुरक्षा व्यवस्थापनमा भरपर्दो सहयोगी सावित भएका थिए ।
सेवानिवृत्त अवसरमा जनकपुर विमानस्थलस्थित केनाइन उपशाखामा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रहरी अधिकृत, तालिम प्रशिक्षक तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मेसीलाई सम्मानपत्र प्रदान गरिनुका साथै सेवा भावको कदर गरिएको थियो ।
नेपाल प्रहरीले तालिमप्राप्त कुकुरहरूलाई विशेष सुरक्षात्मक कार्यमा खटाउँदै आएको छ । मेसीजस्ता दक्ष कुकुरहरूको योगदानले प्रहरी संगठनको सफलता र जनविश्वास वृद्धि गर्न सहयोग पुगेको बताइएको छ ।
