- पूर्ण कुँवर
भदौ १ गते १० बजेतिर म केही कामले सुर्खेतको वीरेन्द्रनगर बजार गएको थिएँ । २०,२२ बर्षका दुईजना दिदीबहिनीलाई केही सामानको साथमा घन्टाघर नजिक सडक किनारमा देखें ।
उनीहरुमध्ये एक बहिनी बिरामी र अर्की बहिनी बिरामीको सहयोगी रहेछिन् । उनीहरु केही समस्यामा परेको र केही सहयोगको जरुरत परेको कुरा उनीहरुको अनुहारमा प्रष्ट देखिन्थो ।
मैले उनीहरुलाई त्यो कुरा नसोधी त्यहाँबाट आफ्नो बाटो लाग्न सकिन, किनकि उनीहरु साँच्चिकै समस्यामा छन भन्ने कुरामा म ढुक्क थिए ।
अनि मैले उनीहरु दुवैलाई एकसाथ सोधेँ, तिमीहरु कहाँबाट आएका हौ ? कहाँ जानुपर्ने हो ? तिमीहरुलाई केही कुराको समस्या भए भन नानी म तिम्रो बुबा जस्तै हुँ ।
यति भनेपछी दुई बहिनीमध्ये दिदी चाहिँ जो सिकिस्त बिरामी थिइन्, उनको मुहारमा केही खुसी देखियो । उनले मलाई भनिन, हामी गाउँबाट आएको हो । भर्खर गाडीबाट झरेको । म विगत एक हप्तादेखि सिकिस्त बिरामी छु । ऊनी मेरो बहिनी हुन मेरो सहयोगीको रूपमा ।
त्यसपछि पहिला मैले उनीहरुलाई खानपिन सोधेँ । उनीहरु भोकै थिए । तर खाना खानु उनीहरुको पहिलो समस्या र प्राथमिकता थिएन भन्ने कुरा उनीहरुले मलाई भने ।
मैले फेरी भने, भन नानी अरु केही सहयोग चाहिन्छ ? सोधेपछि थाहा भो, उनीहरु एरीचोकमा रहेको राना मेडिकलमा जान चाहन्थे । तर कसरी जाने समस्यामा थिए ।
मैले कत्तिपनि समय खेर नफाली उनीहरुको सामान र दुई बहिनीलाई एकसाथ मेरो बाइकमा बस्न आग्रह गरे । उनीहरु बसे । म त्यहाँबाट राना मेडिकल जानको लागि वीरेन्द्र चोक, मंगलगढि चोक अनि एरीचोक हुँदै राना मेडिकलतिर बाटो तय गरेर अघि बढे ।
त्यो दिन सुर्खेतमा लाखे जात्रा परेको कारण प्रायः सडकभरी भिड र मानिसले भरीभराउ थियो । त्यसैले मैले छोटो र सिधा बाटोबाट जान नसकेको कारण मंगलगढि हुँदै घुमेर लामो बाटो तय गर्नुको विकल्प थिएन ।
मैले १०० प्रतिशत सवारी नियम तोडेको थिए । त्यहाँबाट राना मेडिकलको लागि निस्की सकेपछि मात्र मलाई त्यो कुरा झसङ्ग भो ।
एक मन सोचे, मैले सवारी नियम उल्लघंन गर्नु हुँदैन् । फेरी सोचे मैले मानवीय कर्तव्य पुरा गर्न आज नियम उलंघन गर्दा कारबाहिमा परे पनि त्यो कुरामा फिक्री गर्नु हुँदैन् ।
राना मेडिकल पुग्ने बेला सम्म ३ ठाँउमा ट्राफिक प्रहरीले मलाई रोक्नुभो, तर कुनै ठाँउमा अवरोध गर्नुभएन्। मैले सरासर नियम उल्लघंन गरेको कारण म कसुरदार थिएँ र सजायको भागिदार पनि ।
तर अचम्मको कुरा तिनै ठाँउमा तैनाथ प्रहरीले हाम्रो अवस्था र समस्या बुझेर हामीलाई सतर्क गराउनु भो तर कुनै कारबाही र अवरोध गर्नु भएन । मैले यो उमेरसम्मको भोगाईमा यति असल बुझ्ने र सहयोगी ट्राफिक प्रहरी कहिल्यै भेटेकै थिइन् ।
त्यो दिनको घटनाले मलाई के विश्वास भो भने सबै ट्राफिक प्रहरी खराब हुँदैनन् । नेपाल प्रहरीभित्र असल, सहयोगी र जनताको समस्या बुझ्ने पनि रैछन भन्ने कुरामा खुशी लाग्यो ।
अनि अनन्तः मैले उनीहरुलाई राना मेडिकलसम्म पुर्याएर उनीहरुको आफन्तसँग भेट्न् सहयोग गरेर घरतिर फर्किए । राना मेडिकल पुगेर बाइकबाट ओर्लिँदा ती दिदीबहिनीको मुहारमा झल्केको खुसी नै मेरो लागि उनीहरुको तर्फबाट धन्यवादको उपहार थियो ।
उनीहरुसँग फेरी भेट होला नहोला
तिनी नानीलाई शीघ्र स्वास्थ लाभको कामना ।
