काठमाडौं । नेपाली कांग्रेसले बिहीबार मात्रै पार्टी प्रवेश गरेका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको खुलेपछि सदस्यता खारेज गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए ।
मुख्यसचिव पौडेलले भने, ‘तर, बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’
यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।
विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
