काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्याका फरार प्रतिवादीलाई पार्टीमा भित्र्याएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रहरीको खोजी सूचीमा रहेका यादवलाई बिहीबार पार्टीमा भित्र्याएर स्वागत गरेका हुन् ।
यादवको स्वागत कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित देखिन्छन् ।
महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
