काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का एक पूर्व सैनिकले १० धुर जग्गा आफ्नो नाममा गर्न जीवितै श्रीमतीको मृत्यु प्रमाणपत्र तयार गरेको खुलासा भएको छ ।
यो घटनाले एकातर्फ स्थानीय तहको दर्ता प्रणालीमा देखिएको गम्भीर कमजोरी उजागर गरेको छ भने अर्कोतर्फ मृत्यु दर्ता गरिएकी महिलाले ‘पुनर्जन्म’ को लडाइँ लड्नुपरेको छ ।
पीडित ३८ वर्षीया गोमतीदेवी गिरीका अनुसार उनका श्रीमान् दयाराम गिरीले २०७६ साल फागुन ५ गते मृत्यु भएको मिति राखी सोही महिनाको २० गते वडा कार्यालयबाट उनको मृत्यु भएको भनी झुटो प्रमाणपत्र बनाएका थिए ।
जसमा तत्कालीन पञ्जिकाधिकारी गुरूदेव विकले प्रमाणीकरण गरेका छन् । यो कुरा उनी स्वयमले ६ वर्षपछि थाहा पाएकी हुन् ।
झुटो मृत्यु दर्ता प्रमाणपत्रको आधारमा दयारामले गोमतीदेवीको नाममा रहेको जग्गा आफ्नो नाममा सारेर बिक्री गर्ने तयारी गरेको आरोप छ ।
पीडित गोमतीदेवीले भनिन्, ‘म यहाँ जीवित छु, तर कागजमा ६ वर्षअघि नै मारेर मेरो जायजेथा अर्काको नाममा पु¥याईएछ । अब कानुनी रुपमा पुनर्जन्मका लागि लड्नु परेको छ ।’
वडाध्यक्ष सुशीलकुमार भट्टका अनुसार मृत्यु दर्ता गर्दा आवश्यक कागजात र स्थानीयको प्रमाणिकरण विना प्रक्रिया पूरा हुनु गम्भीर लापरबाही हो। उनका भनाइमा, यो घटना व्यक्तिगत विवाद मात्र नभई, स्थानीय प्रशासनिक प्रणालीको कमजोरी पनि हो ।
यसबारे कञ्चनपुरका सिडिओ लक्ष्मण ढकालले पीडितले वडा कार्यालयमा निवेदन दिए झुठो मृत्यु दर्ता खारेज हुने बताए । तर झुटो प्रमाण पेस गर्ने र त्यसलाई प्रमाणीकरण गर्ने दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउने हो भने त्यसै अनुसार कानुनी प्रकृया अगाडि वढाउनु पर्ने उनको भनाई छ ।
कञ्चनपुरमै जन्मिएकी गोमतीदेवीले २१–२२ वर्षको उमेर (४ पुस ०६६) मा नेपाली सेनामा कार्यरत दयारामसँग विवाह गरेकी थिइन् । भागेर विवाह गरेकी उनी फर्केर माइती जान सकिनन् । विवाहपछि उनीहरुका दुई सन्तान जन्मिए ।
बेला–बखत उनीहरुको ठाकठुक परिरहन्थ्यो, कहिलेकाहीँ त ठुलै झगडा पनि । श्रीमानले धेरै पटक उनलाई घर छोडेर जान आदेश दिन्थे । तर, उनले कहिलै पनि घर र छोराछोरी छोड्ने हिम्मत गर्न सकिनन् । ‘दिनहुँ झगडा भए पनि सुख–दुःख गरेर बसिरहेँ । जहिले घर छोडेर जाऊ भनिए पनि छोराको मुहार हेरेर बसेँ,’ उनले भनिन् ।
तर, अतिचार भएर सहन नसक्ने अवस्था भएपछि ०७५ असार ३ गते उनी घर छोडेर हिँडिन र भारतमा वस्न थालिन् । घर छोडेको दोस्रो दिनदेखि साउनसम्म श्रीमानसँग उनको संवाद भइरह्यो । ०७५ भदौमा दयाराम शान्ति सेनामा गए । त्यसपछि उनीहरुको सम्पर्क टुट्यो ।
०७६ कात्तिकमा दयाराम शान्ति सेनाबाट फर्किए । त्यसको एक महिनापछि फेरी उनीहरुको सम्पर्क भयो । श्रीमान फर्किए पछि गोमती पनि घर फर्किन चाहान्थिन् । तयर, विवादका कारण फर्किन सकिनन् । त्यसपछि मात्रै उनले दयारामले अर्को विवाह गरेको र सन्तानसमेत रहेको जानकारी पाइन् ।
श्रीमानको दोस्रो विवाहपछि गोमतीले पनि अर्को विवाह गरिन् । त्यसपछि दयाराम र गोमतीको फोन सम्पर्कसमेत टुट्यो । उनका छोराहरू आफन्तकोमा राखिएका थिए । उनी बेलाबेलामा आफन्तमार्फत छोराहरूको अवस्थाबारे सोधपुछ गर्थिन् ।
यस्तै क्रममा उनको जीवनका ६ वर्ष बिते । अघिल्लो वर्ष असारमा आमाको निधन हुँदा पनि उनी फर्किएर आउन सकिनन् । यस पटक वर्ष दिनको काममा आएकी उनले आफुसँग भएको केही पैसा जग्गामा लगानी गर्ने सोच बनाइन् । त्यही क्रममा चिनेजानेका मान्छेले ‘तिम्रो मृत्यु दर्ता भइसकेको छ’ भन्दै सुनाएको उनी बताउँछिन् ।
‘तपाईंको त मृत्यु दर्ता भइसक्यो’ भन्दा छक्क परे । तीन÷चार जना स्थानीयले त्यही सुनाएपछि वडा कार्यालयमा सोधपुछ गर्न जाँदा मृत्यु दर्ता भइसकेको पुष्टि भएको उनको भनाइ छ । ‘२०७६ पुससम्म हाम्रो बोलचाल भइरहेको थियो । फागुनमा मृत्यु दर्ता गरिदिनु भएछ,’ उनले भनिन् ।
