काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकमाथि न्यायालयलाई प्रभावित पारेको आरोप लगाएकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीको सचिवालयबाट उजुरी तयार पारेर न्याय परिषद्मा पठाइएको दाबी गरिन् ।
सांसद कार्कीले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको अभिव्यक्तिलाई उद्धृत गर्दै गृहमन्त्रीले मानव तस्करीको मुद्दामा मात्र नभई न्यायालयमा हस्तक्षेप गरेको बताइन् ।
उनले गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीको कार्यकक्षबाट उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि विभिन्न ठाउँमा पठाइएको सूचना बाहिरिएको खुलासा गरिन् ।
‘उजुरी गृहमन्त्रीको सचिवालयबाटै न्याय परिषद्मा योजनाबद्ध रूपमा पठाइयो, यस्तोमा स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ ?’ उनले प्रश्न गरिन् ।
केही सांसदले कानुनमन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
यस्ता गतिविधिले समाजमा गलत सन्देश जाने र कानुनी शासनमाथि प्रश्न उठ्ने उनको भनाइ छ ।
