काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलमा राम्रो व्यवहार नगरिएको भन्दै चित्त दुखाएका छन् ।
सहकारी काण्डमा अदालतको आदेशले पुर्पक्षको सजाय काटिरहेका रविलाई भेट्न आज बिहान उनी भैरहवा कारागार पुगेका थिए । भेटपछि कारागार परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले रविलाई एक्लै कोठामा राखिएको र पत्रपत्रिका पढ्नबाट समेत बन्चित गरिएको देखेर दुःख लागेको प्रतिक्रिया दिए ।
‘पत्रपत्रिका पनि ल्याएर दिइँदो रहेनछ । हामी त पन्चायतकालमा पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो’, उनले भने ।
रवि जनप्रतिनिधि भएकाले बाहिरै बसेर मुद्दा लड्ने सुविधा पाउनुपर्ने तर्क पनि उनले गरेका छन् । ‘जनताको प्रतिनिधि भाग्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा जमानत गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो भनाइ हो’, उनको भनाइ छ ।
रवि एउटा राजनीतिक बन्दी भएकाले र एउटा वैकल्पिक नयाँ अभियानको हिसाबले सद्भाव प्रकट गर्न आएको उनले प्रष्ट्याए ।
पन्चायतकालमा सबैभन्दा लामो समय जेल बसेका मोहनचन्द्र अधिकारीदेखि अन्य राजनीतिक बन्दीलाई आफूले सद्भाव प्रकट गर्न जेलमा पुगेर भेट्ने गरेको उनले स्मरण गरे ।
निर्वाचित जनप्रतिनिधिलाई थुनामा राख्दा जनतामाथि अन्याय हुने भट्टराईको जिकिर छ । विगतमा टोपबहादुर रायमाझीको हकमा पनि आफूले सभामुखसँग यसबारे कुरा गरेको उनले बताए ।
बाबुरामले यसअघि रवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भएका बेला पनि भेटेका थिए । केही समयअघि उनले रास्वपा मुख्यालय पुगेर रविको समर्थनमा हस्ताक्षर पनि गरेका थिए ।
