काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा नाम निकालेका भण्डारीले राजीनामा दिएका हुन् ।
उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।
उक्त रिक्त डिएसपी पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ । तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत अधिकारी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा थिए ।
उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिन्छन् ।
