काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा नजिक चौतारा साँगा चोकगढी नगरपालिकाकी अविवाहित किशोरीले एक शिशुलाई जन्म दिएपछि उनीमाथि झण्डै एक वर्षअघि भएको बलात्कारको घटना सार्वजनिक भएको छ।
पेट दुखेको भनेर अस्पताल पुगेकी किशोरीले २० साउनमा बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव खरेलका अनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि सिन्धुपाल्चोककै श्रेष्ठ थरका ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेट दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो,’ डिएसपी खरेलले भने ।
पक्राउ परेका व्यक्तिमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
