काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित ससुराली गाउँमा कटुवा पेस्तोल देखाउँदै सर्वसाधारणलाई आतंकित बनाउँदै आएका एक युवक पक्राउ परेका छन् ।
पर्साकै बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठा घर भई हाल ससुरालीमा बसोबास गर्दै आएका ४० वर्षीय साहेब खाँलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।
खाँले हातहतियार बोकी स्थानीयवासीलाई डरत्रास देखाउँदै गाउँमा हिँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विर्ताबाट इन्स्पेक्टर निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई आइतबार बेलुका पक्राउ गरेको हो ।
पक्राउपश्चात उनको खानतलासी गर्दा एकथान कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
हाल खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । यसका लागि अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
