काठमाडौं । डेढ महिना अघि सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा डकैती गर्ने उद्देश्यले घर पसेको समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गर्यो। जेठ २३ गते राति करिव १ बजे भएको घट्नामा ६५ वर्षीय चौधरीले घट्नास्थलमै ज्यान गुमाए।
प्रहरीका अनुसार ६ जनाको समूह डकैती गर्न कन्ताललको घरमा पसेको थियो। उनीहरूले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिन खोज्दा कन्तलालले समूहका केहीलाई चिनेको जनाउँदै ‘तिमीहरूलाई चिनेको छु’ भन्दै तर्साउन खोजे।
त्यसपछि समूहका एक सदस्यले झोलाबाट पेस्तोल निकालेर उनलाई गोली प्रहार गरे। घटनास्थलमै चौधरीको ज्यान गयो। कन्तलालका भाई ४० वर्षीय रामकान्त चौधरीलाई पनि खुकुरी प्रहार गरी उनीहरुले घाइते बनाए।
घरमुलीको हत्या र लुटपाटपछि डाँकाहरूले घरमा रहेका सुनचाँदीका गहना, नगद र मोबाइल लुटेर फरार भए। घटनालगत्तै सप्तरी प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा हालसम्म सप्तरी, उदयपुर र सिरहाका ९ जनालाई पक्राउ पक्राउ गरी सोमबार प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गाका २८ वर्षीय संजय मरिक, वडा नम्बर–७ का ३३ वर्षीय राजु कुमार बिक, वडा नम्बर –८ का २७ वर्षीय राजेश कुमार मरिक, बोदेबर्साइन नगरपालिका –२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय दिपक मरिक, सिरहाको लहान नगरपालिका–६ का ५२ वर्षीय महेन्द्र गोड्से, वडा नम्बर ८ का ३८ वर्षीय उमेश साह सोनार र उदयपुरको बेलका नगरपालिका–१ का २८ वर्षीय चन्दर मरिक छन्।
उनीहरुको साथबाट प्रहरीले चाँदीको थाल, बाला, कटुवा पेस्तोल १ थान, त्यसामा लाग्ने गोली २ राउन्ड र एउटा खुकुरी १ थान बरामद गरेको छ। पक्राउ परेका मध्ये दिपक मरिकलाई प्रहरीले गएराति ४ राउण्ड हवाई फायर गरेर पक्राउ गरेको हो।
डाक्नेश्वरी–५ मा प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार लुटिएको सुन श्रद्धा सुनचाँदी गलाई सेन्टर र ओम ज्वेलर्स नामक पसलमा गलाइएको प्रहरीले जनाएको छ। ती पसलेहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
डीएसपी वस्नेतका अनुसार कन्तलालले चिनेको भनेपछि गोली हानिएको स्पष्ट छ, त्यसैले घटनालाई योजनाबद्ध हत्या र डकैती दुवैका रूपमा अनुसन्धान भइरहेको छ।
फरार अन्य अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
