काठमाडौं । अहिले बहसको विषय बनेको बहु विवाहसम्बन्धी कानुनी मस्यौदाका विषयमा एमाले महासचिव शंकर पोखरेलले जनाएको टिप्पणीमा नेकपा एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्यले आफ्नो प्रतिक्रियासहित मत राखेकी छन् ।
पोखरेलले उक्त विषयप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका थिए,‘ कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’
यसलाई मिडियाले समाचार बनाएपछि त्यसमा कमेन्ट गरेकी नेकपा एकीकृत समाजवादीकी नेत्री चुनु खड्का केसीले लेखेकी छन्,‘ केही नेताहरुका रखैलहरु छन् यहि कारण यस्तो सोच ल्याएको हुनसक्छ ।’

उनले थपेकी छन्, ‘तर गरिमामय पदमा बसेर केही चरीत्रहिन महिला पुरुष बाहेक अरुको भावनालाई ठेस पुग्नेगरी समाजको अनुसासनमा आँच आउने कानुन बनाउँछु भन्न सुहाउँदैन। राम्रो नै काम गर्ने सोच भएको भए आमाबाट सन्तानले नागरिकता पाउने नियम लागू गर यहि महिनाबाट नै । नत्र कुर्सी बसिरहन उचित हुँदैन राजिनामा देउ !’
अहिले बहु विवाहसम्बन्धी कानुन संशोधनको मस्यौदाका विषयका कुरा बाहिर आएपछि विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ताले पनि यसको विरोध गरिरहेका छन् ।
