काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।
आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पहिलो चुनावमा माधव कुमार नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको बताए ।
उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए ।
‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्यो । २० रुपैयाँ बच्यो ।’
यद्यपि ओलीले माधव नेपाल भने पनि त्यसबेला मदन भण्डारी महासचिव थिए । उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘चुनाव सकिएपछि ५र७ जना साथीहरू भेट भएको थियो । तपाईंले एक कप चिया पनि नखुवाइ चुनाव सक्ने र विजयी भएर जाने, यो त ज्यादती नै भयो भने,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, मलाई पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित नै छ भनेँ । पाँच सात जनालाई चिया खान पुग्छ भनेर हामीले खाएका थियौं ।’
यस्तै कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए ।
तर, त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए । तर २१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’
प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरे ।
