काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइकेको छविले चिनिएका दावा लामा भनिने जितेन्द्रबहादुर तामाङविरुद्धको लागूऔषध मुद्दामा सुनुवाई अघि बढाएको छ ।
अदालत स्रोतकाअनुसार उनको मुद्दामा आइतबार पेशी तोकिएको छ । उनको पेशी न्यायाधीशद्धय शारङगा सुवेदी र सुनिल पोखरेलको इजलासमा परेको छ ।
लामालाई सात वर्षअघि उच्च अदालतले लागूऔषधको मुद्दामा पाँच वर्ष कैद सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएकोमा करिब सात वर्षपछि मुद्दाको सुनुवाई हुन लागेको हो ।
दोषी ठहर भए जेल जानुपर्ने निश्चित जस्तै भएपछि उनै गुण्डा नाइके लामा हारगुहार गरिरहेको स्रोत बताउँछ । काभ्रेपको भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लामा अदालतलाई प्रभावमा पारेर आफ्नो मुद्दा ढिसमिस बनाउन खोजिरहेका छन् ।
पहिला गुण्डागर्दीमा संलग्न दावा पछिल्लो समय नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन् । उनै लामाले कांग्रेसका केही नेताहरुमार्फत अदालतलाई प्रभावमा पार्नेगरी ५ करोडको चलखेल गरिरहेको स्रोत बताउँछ ।
खैरो हेरोइनसहित पक्राउ परेका थिए लामा
२०७१ साल भदौ २ गते लामासहित तीन जनालाई प्रहरीले काठमाडौंको जोरपाटीबाट १४.८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।
जसमा जिल्ला अदालत, काठमाडौंले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले उच्चमा पुनरावेदन गरेको थियो ।
२०७५ को असोज १५ गते उच्च अदालत, पाटनका न्यायधीशहरू नगेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्टाउँदै लामालाई दोषी ठहर गरी कैद सजाय सुनाएको थियो ।
उच्चको सो फैसलामा भनिएको छ–‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४.८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले वकपत्र समेत गरेको देखिएको अवस्थामा निज प्रतिवादी दावा लामा भनिने जितेन्द्र तामाङलाई आरोपित गरिएको लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४ (१) बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाई दिने गरी काठमाडौं जिल्ला अदालतबाट भएको २०७२/०८/२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (१) र ६ (१) बमोजिम पाँच वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर्छ ।’
उनीसँगै पक्राउ परेका प्रबिण खड्का र विरेन्द्रबहादुर कुँवरसँग भने लागूऔषध बरामद नभएको आधारमा सफाइको फैसला भएको थियो । उनीहरुलाई सफाइ दिने फैसलाविरुद्ध पनि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको छ ।
लगाउमा राखेर मुद्दाको सुनुवाई अघि बढाइएको छ ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी परेपनि राजनीतिक आडकै आधारमा अनुसन्धान रोक्दै आएका छन् । यता पछिल्लो समय प्रहरी गुण्डागर्दीविरुद्ध आक्रमक समेत बनेको छ ।
