काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा श्रीमतीको मृत्यु भएकै केही घन्टामा श्रीमानको पनि मृत्यु भएको छ । ४०–४५ वर्षदेखि गल्छी गाउँपालिकामा बसोबास गर्दै आएका वृद्ध दम्पती हस्त बहादुर मल्ल र रेवती मल्लको एकैदिन निधन भएको छ।
ठकुरी बा र ठकुरी आमाको नामले चिनिने सन्तानविहीन यी दम्पतीको निधनले स्थानीय समुदाय स्तब्ध भएका छन् । गाउँवासीमा गहिरो समवेदना र पीडाको लहर फैलिएको छ ।
स्थानीयका अनुसार, ठकुरी आमाको २०८२ साल साउन १६ गते दिउँसो २:४० बजे निधन भयो । उनी लामो समयदेखि बिरामी थिइन् । पत्नी बियोगको पीडा सहन नसकी त्यही रात ९:३८ बजे ठकुरी बाको पनि निधन भयो ।
चार दशक अघिदेखि यहाँ बस्दै आइरहेको भएपनि उनिहरुको आफन्त र अन्य पारिवारिक सदस्यहरुको कुनै जानकारी नभएको स्थानीय बताउँछन् ।
स्थानीयहरूका अनुसार, हस्त बहादुर र रेवती मल्ल गल्छी क्षेत्रमा सबैलाई चिनेका र चिनेने पात्र थिए । परिवार नभए पनि समाजसँगको गहिरो आत्मीयताले उनीहरूको जीवन चलिरहेको थियो ।
ठकुरी आमाको निधन भएको करिब ७ घण्टापछि ठकुरी बाले पनि प्राण त्याग गरे । यो संयोग मात्र नभएर एकअर्काप्रति गहिरो समर्पण र आत्मीय सम्बन्धको प्रमाण हो भन्ने भावना गाउँलेहरूमा देखिएको छ ।
पारिवारिक सदस्य नभएका कारण अन्तिम संस्कारको सम्पूर्ण जिम्मेवारी स्थानिय युवाहरू, सामाजिक अगुवाहरू र टोल विकास संस्थाले मिलेर गरेका छन् ।
समाजका तर्फबाट हस्त बहादुर मल्ल र रेबती मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
