काठमाडौं । साउन ५ गते सिन्धुलीको दुधौलीमा भारतीय तिर्थ यात्रीको हत्या भएको भनिएको प्रकरणमा नयाँ खुलासा भएको छ । प्रहरीले तत्काल प्राप्त प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा तिर्थयात्रीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएको थियो ।
दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर नजिकैको कालिडाँडामा भारतको बिहार, सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का २५ वर्षीय पंकज कुमार भगतको शव फेला परेको थियो । प्रहरीले घट्नाको विस्तृत अनुसन्धान गर्दा ती भारतीय युवकको मृत्युको रहस्य खुलेको छ ।
अनुसन्धानपछि प्रहरीले बन्दुक समाएर फोटो खिच्ने क्रममा गोली पड्किएर उनको मृत्यु भएको निष्कर्ष निकालेको छ । स्थानीय विष्णु बहादुर घिसिङको घरमा घरमा विश्राम गरिरहेका बेला बन्दुक समाएर पंकजले फोटो खिच्न खोज्दा अचानक बन्दुक पड्किएको र गोली छातीमा लागेको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दुक धनी विष्णु बहादुर घिसिङ, उनकी पत्नी तिलमाया घिसिङ र भारतकै अविनिस कुमार दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार तिलमाया घिसिङ साउन ६ गते, विष्णु घिसिङ साउन ७ गते र दासलाई मधेश प्रदेश प्रहरीको सहयोगमा धनुषाको भारत–नेपाल सीमावर्ती क्षेत्रबाट साउन १४ गते पक्राउ गरिएको हो ।
घटनास्थलको अनुसन्धानका क्रममा प्रहरीले चक्कु र कचिया समेत बरामद गरेको छ । एसपी सुवेदीका अनुसार गोली लागेपछि मृतकको छातीबाट चक्कु र कचिया (हँसिया)ले गोली निकाल्ने प्रयास गरिएको देखिएको छ ।
पोष्टमार्टम रिपोर्टमा पनि मृतकको शरीरमा गोलीका छर्रा भेटिएको छ, जसले घटनाको प्रकृति अझ जटिल बनाएको छ ।
घटनामा प्रयोग गरिएको भरुवा बन्दुक तिलमाया घिसिङको घर नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले साउन ६ गते बरामद गरेको थियो । यस घटनामा हातहतियार, खरखजाना तथा हत्या अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
मृतक पंकज आफ्नो २० जना साथीसहित मधुगंगा महादेव मन्दिरको दर्शनका लागि दुधौली आएका थिए ।
