काठमाडौं । जिल्ला प्रहरी परिसरले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।
चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए ।
महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिएको एसएसपी अधिकारीले बताए ।
प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध काठमाडौँ प्रहरीले अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
चक्रे मिलन यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन् ।
२०७९ सालको चुनावमा नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको समेत गरेको थियो ।
