काठमाडौं । नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ । ‘लैङ्गिक समानता र न्यायलाई मूल प्रवाहमा ल्याउने’ उद्देश्यसहित भदौ ५ र ६ गते राजधानी काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गर्न लागिएको हो ।
‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ नाम दिइएको सो कार्यक्रममा देशभरका विभिन्न इकाइमा कार्यरत महिला प्रहरीहरू सहभागी हुनेछन् । सम्मेलनमा उनीहरूको अनुभव, योगदान, चुनौती र भावी सुधारका विषयमा बहस गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेका छन् । उक्त समितिले कार्यक्रमको आयोजना, व्यवस्थापन र समन्वयको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ ।
आईजीपी थापाले एआईजी अधिकारीलाई पठाएको औपचारिक पत्रमा सम्मेलनको महत्वलाई औंल्याउँदै त्रुटिरहित व्यवस्थापनको निर्देशन दिएका छन् । पत्रमा भनिएको छ, ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२ सफलतापूर्वक सम्पन्न गराउन आयोजनाको समग्र पक्षमा मार्ग निर्देशन गर्न तपाईंको संयोजकत्वमा देहायका प्रहरी अधिकृतहरू रहेको समिति गठन गरिएको छ । तोकिएको जिम्मेवारी समयमै र प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन अनुरोध गरिएको छ ।’
समितिमा एआईजी अधिकारीका साथै अपराध अनुसन्धान विभागकै प्रहरी नायब महानिरीक्षक (डिआइजी) सन्जिव शर्मा दास, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराई, कार्य विभागमा कार्यरत एसएसपी वसन्त रजौरे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी एसएसपी तारादेवी थापा र सोही निर्देशनालयकी प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्का र अअ विभागकै अर्का एसपी ऋषिराम कँडेल सदस्य सचिवका रूपमा रहेका छन् ।
नेपाल प्रहरी संगठनमा महिलाहरूको भूमिका पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहे पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति न्यून छ । यस्तोमा महिला प्रहरीहरूको क्षमता अभिवृद्धि, मनोबल वृद्धिका साथै संगठनभित्र समावेशी संरचना निर्माणको सन्देश दिन सम्मेलनले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ
सम्मेलनमा महिला प्रहरीहरूको व्यावसायिक क्षमता, नेतृत्व विकास, कार्यस्थलमा समान अवसरको सुनिश्चितता र संगठनात्मक नीति निर्माणमा लैङ्गिक दृष्टिकोण समावेश गर्नुपर्ने आवश्यकता झल्काइने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरीको इतिहासमा पहिलोपटक आयोजना हुन लागेको यो सम्मेलनले महिला प्रहरीहरूलाई थप आत्मविश्वासी बनाउने, उनीहरूको आवाज सुन्ने र भविष्यका रणनीतिहरू तय गर्न सहयोग पुर्याउनेछ ।
