काठमाडौं । गत ५ साउनमा बसेको बढुवा समितिको बैठकले ११ एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको थियो। बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका एसपी बस्नेत सिफारिसमा छुटेका थिए।
यसअघि पनि पटक–पटक बढुवामा छुटेका बस्नेतले यसपटक नपरेपछि उजुरी गरेका छन्। सिनियर एसपी बस्नेतले सो सिफारिसविरुद्ध प्रहरी नियमावली दफा ४२ अनुसार उजुरी दिएका हुन् ।
बस्नेतका ब्याचका प्रहरी अधिकृतहरु हाल डिआइजी भइसकेका छन्।
एसएसपी बढुवामा लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा उपर उजुरी सुन्ने समितिको निर्णय गर्ने प्रावधान प्रहरी नियमावलीमा छ ।
जसमा मुख्यसचिव र कानूनसचिव सदस्य रहनेछन्। अब सो समितिले उजुरी फस्र्यौट गरेपछि मात्र एसएसपी बढुवाको टुंगो लाग्ने भएको छ।
एसएसपीको बढुवा रोकिएपछि एसपी र डिएसपीको बढुवा समेत प्रभावित हुने भएको छ । ५ साउनमा ११ डिएसपीलाई एसपी तथा १३ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको थियो।
