काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा एक २३ वर्षीया महिला मृत फेला परेकी छन् । चन्दन मण्डलकी श्रीमती शोभा मण्डल मृत फेला परेकी हुन् ।
राति करिव साढे १२ बजे शोभा झुण्डिएको अवस्थामा फेला परेको खबर प्राप्ता भएपछि प्रहरी टोली घट्नास्थल परगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अनिल बैठाका अनुसार प्रहरी टोली पुग्दा शव ओछ्यानमा भेटिएको थियो ।
‘घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बताएका छन्’– बैठाले भने । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक विवरणका आधारमा आत्महत्या भएको आशंका गरिएको भए पनि पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।
यता मृतक शोभाको माइती पक्षले भने हत्या भएको दाबी गरेका छन् । उनीहरूको भनाइमा दाइजोका विषयमा घरायसी झगडा भइरहने गरेको र त्यसैका कारण शोभाको हत्या गरिएको हुन सक्ने आशंका छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४, माइस्थान माईती भएकी शोभाको पाँच वर्षअघि चन्दन मण्डलसँग विवाह भएको थियो । उनीहरूकी एक छोरी छिन् ।
प्रहरीले घटना संवेदनशील भएको भन्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।
